काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोशी नदीमा कारसहित बेपत्ता भएका तीन यात्रु र सवारीसाधन अझै फेला पर्न सकेका छैनन्। साउन १८ गते भएको दुर्घटनापछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले निरन्तर खोजी गरिरहे पनि अहिलेसम्म कुनै सफलता हात लागेको छैन।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार बेपत्ता यात्रु र कारको खोजीका लागि ड्रोन, म्याग्नेटलगायत उच्चस्तरीय प्रविधि प्रयोग गरिएको छ। खोजी कार्यमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस क्याम्प खुर्कोटको गोताखोर टोली, नेपाल प्रहरी तथा स्थानीयवासी परिचालित छन्।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले खोजी कार्यलाई तीव्र बनाइएको जानकारी दिँदै आवश्यक परे थप गोताखोर परिचालन गर्ने विषयमा पनि छलफल भइरहेको बताए। उनका अनुसार मङ्गलबारदेखि आधुनिक उपकरणको प्रयोग गरी खोजी जारी राखिएको छ।
सशस्त्र प्रहरीको खुर्कोटस्थित बेस क्याम्पबाट २९ सदस्यीय गोताखोर टोली परिचालन गरिएको छ। यस्तै, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार नेपाल प्रहरीको १५ सदस्यीय गोताखोर टोलीले दुई वटा डुङ्गाको सहायताले सुनकोशी नदी र आसपासका क्षेत्रमा खोजी गरिरहेको छ।
अधिकारीहरूका अनुसार सुनकोशी नदीमा पानीको सतह र बहाव अत्यधिक रहेकाले खोजी कार्यमा कठिनाइ भइरहेको छ।
फिक्कल गाउँपालिका–२ का वडाध्यक्ष शङ्कर भण्डारीले पनि नदीमा आएको बाढीका कारण पानीको बहाव निकै तीव्र भएकाले गोताखोर टोलीलाई खोजी अभियान सञ्चालन गर्न चुनौती थपिएको बताए।
प्रहरीका अनुसार दुर्घटनामा परी सुनकोशी नदीमा बेपत्ता हुनेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ निवासी ३९ वर्षीय निर्माण व्यवसायी दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी २८ वर्षीय गणेश थापा र तीनपाटन गाउँपालिका–९ डाँडाखर्क निवासी १७ वर्षीय सुजन बलम्पाकी मगर रहेका छन्। उनीहरू चढेको कार पनि अझै नदीभित्रै बेपत्ता रहेको छ। प्रशासनले खोजी अभियान निरन्तर जारी रहने जनाएको छ।