बार्सिलोना । स्पेनमा आगामी अगस्ट १२ मा एक शताब्दीपछि दुर्लभ पूर्ण सूर्यग्रहण देखिने भएपछि विश्वभरका वैज्ञानिक, खगोलप्रेमी र पर्यटकहरू उत्साहित बनेका छन्। यो ऐतिहासिक खगोलीय घटना अवलोकन गर्न हजारौं मानिस स्पेन पुग्ने तयारीमा छन्।
पूर्ण सूर्यग्रहण स्पेनका केही क्षेत्रबाट स्पष्ट रूपमा देखिनेछ भने युरोपका अधिकांश भूभाग, क्यानडाका केही क्षेत्र, उत्तरी अमेरिकाको भाग तथा पश्चिम अफ्रिकाबाट आंशिक सूर्यग्रहण अवलोकन गर्न सकिनेछ।
यस अवसरमा अमेरिकी अन्तरिक्ष निकाय नासा र युरोपेली अन्तरिक्ष एजेन्सी (ESA) ले विशेष वैज्ञानिक अध्ययनका साथै सूर्यग्रहणको प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेका छन्। स्पेनको जाभालाम्ब्रे खगोलीय वेधशालाबाट प्रत्यक्ष प्रसारण गरिनेछ भने विभिन्न अनुसन्धान टोलीले सूर्यको बाहिरी वायुमण्डल (कोरोना) को अध्ययन गर्नेछन्।
नासाको सहयोगमा अमेरिकाका विभिन्न विश्वविद्यालयका वैज्ञानिक टोलीहरूले स्पेन र आइसल्यान्डबाट ६० भन्दा बढी उच्च–उचाइका बेलुन उडाएर सूर्यग्रहणले पृथ्वीको वायुमण्डलमा पार्ने प्रभावबारे अनुसन्धान गर्ने कार्यक्रम तय गरेका छन्।
वैज्ञानिकहरूका अनुसार पूर्ण सूर्यग्रहणका केही मिनेटमा तापक्रम घट्ने, दिनमै अन्धकार छाउने तथा केही ग्रह र चम्किला ताराहरू पनि देखिन सक्नेछन्। यही रात पर्सिड उल्कावृष्टि पनि चरम अवस्थामा पुग्ने भएकाले आकाशीय दृश्य झन् आकर्षक बन्ने अपेक्षा गरिएको छ।
विशेषज्ञहरूले सूर्यग्रहण प्रत्यक्ष हेर्दा प्रमाणित इक्लिप्स चस्मा अनिवार्य रूपमा प्रयोग गर्न आग्रह गरेका छन्। सूर्यको सानो भाग मात्रै देखिएको अवस्थामा पनि नाङ्गो आँखाले हेर्दा आँखामा स्थायी क्षति पुग्न सक्ने चेतावनी दिइएको छ।
यस दुर्लभ खगोलीय घटनालाई लक्षित गर्दै स्पेनका विभिन्न सहरमा सार्वजनिक अवलोकन कार्यक्रम, विज्ञान प्रदर्शनी तथा जनचेतनामूलक कार्यक्रम आयोजना भइरहेका छन्। होटल, क्याम्पिङ क्षेत्र र पर्यटन सेवामा समेत उल्लेख्य चाप देखिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्पेनको मुख्य भूभागमा यसअघि सन् १९१२ मा पूर्ण सूर्यग्रहण देखिएको थियो। त्यसयता पहिलो पटक यस्तो दुर्लभ दृश्य देखिन लागेको हो। वैज्ञानिकहरूका अनुसार सन् २०२७ मा पनि स्पेनबाट अझ लामो अवधिसम्म देखिने अर्को पूर्ण सूर्यग्रहण अवलोकन गर्न सकिनेछ।
– एपी तथा अन्य अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा