विश्वकप लिग–२ : युएईमाथि स्कटल्यान्डको रोमाञ्चक एक विकेटको जित

1.1k Shares

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा स्कटल्यान्डले संयुक्त अरब इमिरेट्स (युएई) माथि रोमाञ्चक एक विकेटको जित निकालेको छ ।

डन्डीस्थित फोर्थिल मैदानमा युएईले दिएको २३१ रनको लक्ष्य स्कटल्यान्डले ३९.५ ओभरमा ९ विकेट गुमाउँदै २३५ रन बनाएर पूरा गरेको हो । स्कटल्यान्डका ज्यास्पर डेभिडसनले अन्तिम ओभरको पाँचौँ बलमा चौका प्रहार गर्दै टोलीलाई सनसनीपूर्ण जित दिलाए ।

स्कटल्यान्डको सुरुवात भने निकै खराब थियो । टोलीले जर्ज मुन्से र ब्रान्डन म्याकमुलनलाई शून्य रनमै गुमाएको थियो । त्यसपछि फिनले म्याकक्रेथले २८ तथा कप्तान रिची बेरिङ्टनले ३९ रन बनाए । म्याथ्यु क्रसले ६६ रन र माइकल जोन्सले ४४ रन बनाएर पाँचौँ विकेटका लागि ७२ रनको महत्वपूर्ण साझेदारी गरे ।

युएईका लागि अदिव उस्मानीले उत्कृष्ट शतकीय इनिङ्स खेले । उनले १२६ बलमा ३ छक्का र ११ चौकासहित ११६ रन बनाए पनि उनको प्रदर्शन टोलीलाई जिताउन पर्याप्त भएन । स्कटल्यान्डका ब्रान्डन म्याकमुलनले ३० रन खर्चेर ३ विकेट लिए ।

यस जितसँगै स्कटल्यान्डले ३५ खेलबाट ४३ अंक जोडेको छ । समान अंक रहेको अमेरिका शीर्ष स्थानमा छ । युएई १६ अंकसहित तालिकाको पुछारमा रहँदा नेपाल २४ अंकसहित पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

स्कटल्यान्डले यसअघि सोही मैदानमा क्यानडालाई ९ रनले पराजित गर्दै आगामी वर्ष हुने विश्वकप छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

सम्बन्धित समाचार