टायर पन्चर हुँदा माइक्रोबस पल्टियो, वृद्ध दम्पत्तीसहित ६ जना घाइते

1.2k Shares

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–१६ स्थित पत्थरखोलाको पुलनजिक माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ ज १००० नम्बरको ईभी हाइसको अगाडिको बायाँतर्फको टायर अचानक पन्चर भएपछि अनियन्त्रित भएर सडकमा पल्टिएको हो । गाडीमा चालक र सहचालकसहित सात जना सवार थिए ।

दुर्घटनामा कावासोती–३ का ७४ वर्षीय सुरेश कुँवर र उनकी ६२ वर्षीया श्रीमती लालकुमारी कुँवर, सुर्खेत वीरेन्द्रनगरका धनराज बुढा र बलबहादुर बुढा तथा सरावल–३ का ५५ वर्षीय विद्यासागर लोना चमार घाइते भएका छन् ।

घाइते सबैको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा सामान्य घाइते भएका माइक्रोबस चालक कावासोती–८ का २७ वर्षीय होरामणी महतोको कालीगण्डकी अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

सम्बन्धित समाचार