काठमाडौँ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउन चलिरहेको अभियानप्रति विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कडा आपत्ति जनाएको छ। फिफा र आफ्ना अध्यक्षलाई ‘कमजोर पार्ने’ योजनाबद्ध प्रयास भइरहेको भन्दै संस्थाले त्यसको तीव्र आलोचना गरेको हो।
बेलायती पत्रिका द डेली टेलिग्राफ ले प्रकाशित गरेको एक रिपोर्टपछि फिफाको यस्तो प्रतिक्रिया आएको हो। रिपोर्टमा इन्फान्टिनो युइएफएको महासचिव रहँदा सम्बन्धमा रहेकी भनिएकी एक महिलालाई युइएफएले विदा रकम दिएको दाबी गरिएको थियो। फिफाका प्रवक्ताले भने उक्त आरोपको पूर्ण खण्डन गर्दै ती दाबीहरू ‘पूर्णतः असत्य’ रहेको बताएका छन्।
फिफाले आधारहीन दाबी र अफवाहलाई तथ्यका रूपमा प्रस्तुत नगर्नसमेत चेतावनी दिएको छ।
इन्फान्टिनोले अघि सारेको तर पछि रद्द गरिएको ‘फिफा फरवार्ड इन्टरप्राइज’ प्रस्तावलाई लिएर युइएफए र युरोपेली फुटबल सङ्घहरू उनीप्रति असन्तुष्ट बनेका छन्। प्रस्तावअनुसार व्यावसायिक तथा टिकटिङ अधिकार व्यवस्थापन गर्न नयाँ कम्पनी स्थापना गरी त्यसको २१ प्रतिशत सेयर निजी लगानीकर्तालाई बिक्री गर्ने योजना थियो।
यसै विवादका बीच युइएफएले इन्फान्टिनोमाथिको विश्वास गुमेको बताएको छ। नर्वेजियन फुटबल फेडरेसनकी अध्यक्ष लिसे क्लाभनेसले शुक्रबार इन्फान्टिनोको राजीनामा माग गरेकी छन्।
युइएफएले ‘फिफा फरवार्ड इन्टरप्राइज’ योजना पुनः अघि नबढाउने ग्यारेन्टी नपाएसम्म फिफाका प्रतियोगिता बहिष्कार गर्ने चेतावनीसमेत यथावत राखेको छ।
फिफाले भने आफ्ना अध्यक्ष सदस्य राष्ट्रका फुटबल सङ्घबाट लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित भएको स्मरण गराउँदै उनलाई हटाउने प्रयासप्रति आपत्ति जनाएको छ।
फिफाले जारी गरेको विज्ञप्तिमा केही समूहबाट फिफा र अध्यक्ष इन्फान्टिनोलाई कमजोर बनाउन निरन्तर प्रयास भइरहेको स्पष्ट देखिएको उल्लेख गरिएको छ।
इन्फान्टिनोको विरोध मुख्यतः युरोपमा सीमित देखिएको छ। यद्यपि मेक्सिकन फुटबल फेडरेसनले उत्तर अमेरिकी महादेशीय संस्थाको धारणाविपरीत इन्फान्टिनोको समर्थन गरेको छ।
दक्षिण अमेरिकी फुटबल संस्था र मेक्सिकोले फिफाका सबै २११ सदस्य राष्ट्रको मतदानबिना इन्फान्टिनोलाई पदबाट हटाउने कुनै पनि प्रयास अस्वीकार्य हुने बताएका छन्। अफ्रिकी फुटबल महासङ्घका ५४ वटै सदस्य राष्ट्रले पनि इन्फान्टिनोलाई सर्वसम्मत समर्थन जनाएका छन्।
यसले इन्फान्टिनोको नेतृत्वलाई लिएर युरोप र अन्य महादेशबीच मतभेद बढ्दै गएको संकेत गरेको छ।