बोगोटा । पश्चिम कोलम्बियामा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ भने ८७ जना घाइते भएका छन्।
कोलम्बियन जियोलोजिकल सर्भिसका अनुसार पछिल्लो एक दशकयताकै शक्तिशाली मानिएको उक्त भूकम्पले विभिन्न शहरमा ठूलो क्षति पुर्याएको छ। दर्जनौँ भवन भत्किएका छन् भने केही मानिस भग्नावशेषमा थुनिएको आशंका गरिएको छ। भूकम्पको धक्का राजधानी बोगोटासम्म महसुस भएपछि त्यहाँका बासिन्दा घर छाडेर खुला स्थानमा निस्किएका थिए।

भूकम्पपछि नवनियुक्त राष्ट्रपति एबेलार्डो डे ला एस्प्रिएलाले उद्धार तथा राहत कार्यलाई तीव्रता दिन राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। उनले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने तयारी गर्दै सरकार विपद्को समयमा नागरिकको साथमा रहेको बताएका छन्।
अमेरिकी भूगर्भ सर्भिसका अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी बोगोटाबाट करिब ४०० किलोमिटर पश्चिममा रहेको छोको क्षेत्रको सान जोसे डेल पाल्मार नजिक १०७ किलोमिटर गहिराइमा थियो। भूकम्पपछि २.८ र ४.८ म्याग्निच्युडका दुई परकम्पसमेत महसुस गरिएको छ। अमेरिकी सुनामी चेतावनी प्रणालीले भने सुनामीको जोखिम नरहेको जनाएको छ।
भूकम्पका कारण मनिजालेस, क्विब्डो, आर्मेनिया, कार्टागो, बुएनाभेन्चुरा र पेरेरा विमानस्थलबाट हुने उडानहरू स्थगित गरिएका छन्। कोलम्बियन फुटबल संघले पनि आगामी लिगका खेलहरू स्थगित गरेको छ।
प्रशान्त महासागरको तटीय क्षेत्रमा पर्ने छोको कोलम्बियाको तुलनात्मक रूपमा गरिब र दुर्गम क्षेत्र हो। यहाँका धेरै ग्रामीण बस्तीमा सडक पहुँच सीमित भएकाले डुङ्गा वा विमानमार्फत मात्र पुग्नुपर्ने अवस्था छ। यसले उद्धार तथा राहत टोलीलाई प्रभावित क्षेत्रमा पुग्न र क्षतिको वास्तविक विवरण संकलन गर्न थप कठिनाइ भएको छ।
यसैबीच अमेरिका र युरोपेली संघले कोलम्बियालाई आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको बताएका छन्। युरोपेली संघकी प्रमुख उर्सुला भोन देर लेयनले उद्धार तथा क्षतिको आकलनमा सहयोग पुर्याउन ‘कोपरनिकस’ स्याटेलाइट सेवा परिचालन गरिएको जानकारी दिएकी छन्।