म्याग्दीमा पहिरोले जलविद्युत् आयोजनाको पावरहाउस पुरिँदा सुरक्षा गार्ड बेपत्ता

1.4k Shares

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृह पहिरोले पुरिँदा एक जना सुरक्षा गार्ड बेपत्ता भएका छन्।

मङ्गलबार राति करिब ३ बजे विद्युतगृहको पछाडि रहेको ल्यासीको भीरबाट पहिरो खसेको थियो। पहिरोले विद्युतगृहको केही भाग पुरिँदा आयोजनामा सुरक्षार्थ खटिएका खिमबहादुर बरुवाल ‘दिपक’ सम्पर्कविहीन भएका हुन्।

पहिरोले विद्युतगृह पुरिएको सूचना पाएपछि अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीस्थित इलाका प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार पहिरोमा पुरिएका एक जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ।

प्रहरीका अनुसार विद्युतगृहको पछाडि रहेको पहाडको माथिल्लो भाग खसेर पावरहाउसको केही हिस्सा पुरिएको हो। एक जना सुरक्षा गार्ड बेपत्ता भएपछि उनको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

घारखोला जलविद्युत् आयोजनाको पावरहाउस २०८० असारदेखि सञ्चालनमा आएको थियो। अन्नपूर्ण गाउँपालिका–५ कुरिलाखर्कमा बाँध निर्माण गरी घारखोलाको पानी तीन हजार पाँच सय मिटर लामो सुरुङमार्फत सोही गाउँपालिका–६ अमिलाकाफलस्थित आउटलेटमा पुर्‍याइएको छ।

त्यहाँबाट एक हजार दुई सय मिटर लामो पेनस्टक पाइपमार्फत ४८५ मिटर हेडबाट बेनी–जोमसोम सडकअन्तर्गत पोखरेबगरस्थित विद्युतगृहमा पानी ल्याएर विद्युत् उत्पादन हुँदै आएको थियो।

पहिरोले विद्युतगृहमा क्षति पुर्‍याएपछि आयोजनाबाट हुने विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ। आयोजनाको क्षतिको विस्तृत विवरण भने खोज तथा उद्धार कार्यपछि मात्र यकिन हुने बताइएको छ।

सम्बन्धित समाचार