काठमाडौं । नेपाली फुटबलमाथि FIFAले लगाएको निलम्बनको डेढ महिना बितिसक्दा पनि समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायबाट ठोस पहल हुन नसकेको भन्दै प्रश्न उठेको छ। नेपाल टाइम्सका अनुसार असार ११ गतेदेखि नेपाली फुटबल अन्तर्राष्ट्रिय गतिविधिबाट अलग भएको हो।
निलम्बनका कारण नेपाली पुरुष तथा महिला राष्ट्रिय टोलीसहित उमेर समूहका टोलीले फिफा वा एएफसीको स्वीकृत अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाएका छैनन्। साथै रेफ्री तथा प्रशिक्षकका तालिम, अन्तर्राष्ट्रिय सभा–सम्मेलन र अन्य प्राविधिक गतिविधिमा समेत नेपाली फुटबलको सहभागिता रोकिएको छ।
फिफा तथा AFCबाट प्राप्त हुँदै आएका आर्थिक अनुदानसमेत रोकिँदा आर्थिक रूपमा संकटमा रहेको नेपाली फुटबल थप प्रभावित भएको समाचारमा उल्लेख छ। निलम्बनको मुख्य पृष्ठभूमिमा एन्फाभित्रको कुशासन, वित्तीय अपारदर्शिता, राजनीतिक हस्तक्षेप र नेतृत्वबीचको विवादलाई पनि जिम्मेवार मानिएको छ।
राष्ट्रिय खेलकुद परिषद्ले यसअघि एन्फालाई विभिन्न शर्तसहित निलम्बन गरे पनि पछि बिना शर्त फुकुवा गरेको घटनाले समेत विवाद थप गहिरिएको बताइएको छ। अब फिफाको मापदण्डअनुसार आवश्यक सुधार र संस्थागत प्रक्रिया अघि बढाउँदै नेपाली फुटबललाई अन्तर्राष्ट्रिय गतिविधिमा फर्काउन तत्काल पहल आवश्यक देखिएको छ।