काठमाडौं । पोर्चुगलका चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन् । रोनाल्डो र जर्जिनाले ११ अगस्टमा पोर्चुगलको राजधानी लिस्बननजिकै रहेको समुद्री तटीय सहर कास्काइसमा स्थानीय विधिअनुसार विवाह गरेका हुन् । विवाह समारोहमा उनीहरूका पाँच सन्तान पनि उपस्थित थिए ।
रोनाल्डोले सामाजिक सञ्जालमार्फत विवाहको औंठी लगाएको हात देखिने तस्वीर सार्वजनिक गर्दै विवाहको जानकारी दिएका हुन् । उक्त तस्वीर सार्वजनिक भएको केही घण्टामै लाखौँ मानिसले प्रतिक्रिया जनाएका थिए ।
रोनाल्डो र जर्जिना करिब दस वर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरूको पहिलो भेट स्पेनको म्याड्रिडस्थित एउटा गुच्ची पसलमा भएको थियो । त्यतिबेला जर्जिना उक्त पसलमा काम गर्थिन् भने रोनाल्डो स्पेनको चर्चित क्लब रियल म्याड्रिडबाट फुटबल खेलिरहेका थिए ।

उनीहरूबीचको सम्बन्ध सन् २०१६ देखि सुरु भएको बताइन्छ । त्यसपछि दुवै सार्वजनिक रूपमा सँगै देखिन थालेका थिए । करिब एक दशक लामो प्रेम सम्बन्धपछि उनीहरूले विवाहलाई औपचारिकता दिएका हुन् ।
गत वर्ष ११ अगस्टमा जर्जिनाले रोनाल्डोसँग इन्गेजमेन्ट भएको घोषणा गरेकी थिइन् । उनले सामाजिक सञ्जालमा इन्गेजमेन्टको औंठी देखाउँदै रोनाल्डोसँग जीवनभर सँगै रहने भाव व्यक्त गरेकी थिइन् ।

रोनाल्डो र जर्जिनाका पाँच जीवित सन्तान छन् । रोनाल्डोका जेठा छोरा क्रिस्टियानो जुनियरसहित जर्जिनाबाट जन्मिएका सन्तान विवाह समारोहमा सहभागी भएका थिए । उनीहरूले सन् २०२२ मा जुम्ल्याहा सन्तानको अपेक्षा गरेका थिए, तर छोरा एन्जेलको जन्मकै क्रममा निधन भएको थियो ।
विश्व फुटबलका सबैभन्दा चर्चित खेलाडीमध्ये एक रोनाल्डो र जर्जिनाको प्रेम सम्बन्ध लामो समयदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बन्दै आएको थियो । यसपटक भने उनीहरूले आफ्ना नजिकका परिवारको उपस्थितिमा निजी समारोहबीच विवाह गरेका हुन् ।