म्याग्दीमा घटेन अनलाइन ठगी, एक वर्षमा ८४ लाखभन्दा बढी रकम गुम्यो

2.1k Shares

म्याग्दी । म्याग्दीमा सामाजिक सञ्जाल र अनलाइन माध्यमबाट हुने ठगीका घटना घट्न सकेका छैनन् । पछिल्लो समय अनलाइन सपिङ, सामाजिक सञ्जाल ह्याक गरी आफन्तका नाममा पैसा माग्ने तथा विभिन्न प्रलोभन देखाएर रकम असुल्ने क्रम बढेको पाइएको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा अनलाइन माध्यमबाट ठगी भएको भन्दै ८४ वटा उजुरी परेका छन् । त्यस्तै, ‘फेक आइडी’ बनाएर ठगी गरिएका २१ वटा उजुरीसमेत प्रहरीमा दर्ता भएका छन् । ती उजुरीमा पीडितले कुल ८४ लाख ३५ हजार ५१० रुपैयाँ ठगी भएको जनाएका थिए । प्रहरीले भने १२ लाख ३५ हजार ७२० रुपैयाँ मात्र फिर्ता गराउन सकेको जनाएको छ।

चालु आर्थिक वर्षको सुरुआती चार सातामै अनलाइन ठगीका सातवटा उजुरी परेका छन् । ती उजुरीमा पीडितले ५ लाख १२ हजार १६० रुपैयाँ गुमाएको बताएका छन् । उजुरी बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालयले सूचना प्रविधि शाखामार्फत अनलाइन ठगीका घटनाको अनुसन्धान अघि बढाएको छ।

सामान खरिदका नाममा बढी ठगी

प्रहरीका अनुसार गत आर्थिक वर्षमा परेका अनलाइन ठगीसम्बन्धी उजुरीमध्ये ६० वटा सामान खरिद गर्ने क्रममा भएको ठगीसँग सम्बन्धित छन् । अनलाइन सपिङ, विदेश पठाइदिने प्रलोभन, चिट्ठा, खेल तथा विदेशबाट पार्सल पठाइदिने भन्दै रकम असुल्ने घटना धेरै रहेको प्रहरीले जनाएको छ।

अनलाइन ठगीमा पर्ने व्यक्तिले न्यूनतम एक हजार रुपैयाँदेखि अधिकतम ७ लाख ४८ हजार रुपैयाँसम्म गुमाएका छन्। सामाजिक सञ्जालमा सस्तो मूल्यमा सामान बिक्री गर्ने विज्ञापन राख्ने, आकर्षक अफर देखाउने तथा विश्वासिलो व्यक्तिको नाम र तस्बिर प्रयोग गरी रकम माग्ने गरेका घटना भेटिएका छन्।

बेनीका एक व्यक्तिले आफन्तको म्यासेन्जरबाट आएको सन्देशमा विश्वास गरेर ५० हजार रुपैयाँ क्युआरमार्फत पठाएका थिए । पछि आफन्तलाई फोन गर्दा फेसबुक ह्याक गरेर अर्कैले पैसा मागेको खुलेको थियो।

त्यस्तै, अन्नपूर्ण गाउँपालिकाका एक व्यक्तिले सामाजिक सञ्जालमा देखिएको विज्ञापनका आधारमा आइफोन खरिद गर्न दुई लाख रुपैयाँ क्युआरमार्फत पठाए पनि रकम पठाएपछि सम्पर्क नम्बर बन्द भयो र विज्ञापन गरिएको पेजसमेत हटाइएको थियो। अर्की एक महिलाले कपडा खरिद गर्ने क्रममा व्यक्तिगत विवरण उपलब्ध गराउँदा बैंक खातामा रहेको तीन लाख रुपैयाँ गुमाउनुपरेको प्रहरीसमक्ष बताएकी छन्।

युवा बढी लक्षित

प्रहरीका अनुसार अनलाइन ठगी गर्ने समूहले विशेषगरी १८ देखि ३५ वर्ष उमेर समूहका युवालाई लक्षित गर्ने गरेका छन् । सामाजिक सञ्जालमा बढी समय बिताउने र छिटो आर्थिक लाभ हुने प्रलोभनमा पर्ने भएकाले यो समूह बढी जोखिममा रहेको प्रहरीको भनाइ छ।

फेसबुक ह्याक गरी आफन्तसँग पैसा माग्ने, अन्तर्राष्ट्रिय चिट्ठा तथा उपहार परेको भन्दै रकम माग्ने, ऋण दिने बहानामा ठगी गर्ने तथा अनलाइन गेमिङ र बेटिङ एपमार्फत प्रलोभनमा पार्ने जस्ता प्रवृत्ति पनि देखिएका छन्। ठगीमा पर्नेमा पुरुषको तुलनामा महिला बढी रहेको प्रहरीले जनाएको छ।

सावधानी अपनाउन प्रहरीको आग्रह

प्रहरीले अनलाइन ठगीबाट बच्न अपरिचित व्यक्तिले पठाएका लिंक नखोल्न, आधिकारिक वेबसाइट वा कम्पनीमार्फत मात्र कारोबार गर्न तथा रकम पठाउनुअघि सम्बन्धित व्यक्ति वा संस्थाबारे आवश्यक प्रमाण खोज्न आग्रह गरेको छ।

त्यस्तै, सामाजिक सञ्जालमा आफन्त वा चिनजानका व्यक्तिको नामबाट पैसा मागिएको अवस्थामा पनि तत्काल रकम नपठाई प्रत्यक्ष फोन गरेर पुष्टि गर्न, बैंकिङ तथा व्यक्तिगत विवरण अरूलाई नदिन र आकर्षक अफर तथा अस्वाभाविक रूपमा सस्तो सामानको विज्ञापनमा विश्वास नगर्न प्रहरीले सुझाव दिएको छ।

प्रहरीले अनलाइन अपराध न्यूनीकरणका लागि विद्यालय, क्याम्पस तथा समुदायस्तरमा साइबर सचेतना कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ।

सम्बन्धित समाचार