जैमिनीका किसानको गुनासो : अनुदान होइन, बाँदरबाट मुक्ति चाहियो

1.5k Shares

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाका किसान बाँदरको आतङ्कबाट आजित भएका छन् । खेतबारीमा लगाएको बाली बाँदरले नष्ट गर्न थालेपछि किसानले कृषि अनुदानभन्दा पहिले बाँदर नियन्त्रणको प्रभावकारी योजना ल्याउन नगरपालिकासँग माग गरेका छन् ।

किसानका अनुसार महिनौँ लगाएर हुर्काएको मकै, धान, कोदो, गहुँ तथा तरकारीबाली बाँदरले छोटो समयमै नष्ट गर्ने गरेको छ । घरमै पसेर भकारीमा राखिएको अन्नसमेत नष्ट गर्ने गरेको उनीहरूको गुनासो छ । बाँदरको त्रासका कारण खेती गर्न कठिन हुँदै गएपछि उत्पादन घट्नुका साथै गाउँबाट बसाइँसराइसमेत बढ्न थालेको किसानको भनाइ छ ।

स्थानीय किसान सकसबहादुर क्षेत्रीले किसानलाई अनुदान दिनुभन्दा खेती जोगाउने वातावरण बनाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार नगरपालिकाबाट प्राप्त अनुदानबाट बिउ उत्पादन गरे पनि खेतबाट घरमा ल्याउने अवस्था नरहेको छ ।

अर्का किसान पदमबहादुर श्रीसले नगरपालिकाले ‘बाँदर पार्क’ बनाउने योजना कहाँ पुग्यो भन्दै प्रश्न गर्नुभयो । उहाँले खेतमा बाली पाक्ने समयमा किसानले खेतीको हेरचाहभन्दा बाँदर धपाउनमै समय बिताउनुपरेको बताउनुभयो ।

किसान काशीराम आचार्यले पनि मल, बिउ र अनुदानभन्दा पहिले खेतीबालीलाई बाँदरबाट जोगाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो । बाँदर नियन्त्रणमा खर्च गर्न सके किसानले आफ्नै श्रम र लगानीमा उत्पादन गरेर जीवन धान्न सक्ने उहाँको भनाइ छ ।

‘बाँदर बगैँचा’को योजना

जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले बाँदरको समस्या गम्भीर रहेको स्वीकार गर्दै नियन्त्रणका लागि विभिन्न विकल्प खोजिरहेको बताउनुभयो । नगरपालिकाले बाँदरलाई खेतीयोग्य बस्तीबाट टाढा राख्ने उद्देश्यले ‘बाँदर बगैँचा’ निर्माणको अवधारणा अघि सारेको छ ।

तर बाँदरलाई एउटै क्षेत्रमा थुनेर राख्ने कानुनी व्यवस्था नभएकाले योजना कार्यान्वयनमा कानुनी जटिलता देखिएको नगरप्रमुख पुनले बताउनुभयो ।

नगर उपप्रमुख हरिहर शर्माका अनुसार स्थानीय तहको सीमित स्रोत–साधनबाट मात्रै बाँदर व्यवस्थापन गर्न कठिन छ । बाँदर बगैँचा निर्माणका लागि बजेट, प्राविधिक तयारी र कानुनी प्रक्रियाका कारण योजना कार्यान्वयनमा ढिलाइ भएको उहाँले बताउनुभयो ।

नगरपालिकाले किसानलाई बाँदरले कम क्षति पुर्‍याउने मसला बालीतर्फ आकर्षित गर्ने योजनासमेत अघि सारेको छ । छिस्तीको पुरानो गाउँ क्षेत्रमा बाँदरका लागि आवश्यक फलफूलका बिरुवा रोप्नुका साथै केही पूर्वाधार निर्माण गरिए पनि योजना पूर्ण रूपमा अघि बढ्न सकेको छैन ।

किसानहरूले भने बाँदर नियन्त्रणका लागि स्थानीय तहको प्रयास मात्रै पर्याप्त नहुने भन्दै वन्यजन्तु व्यवस्थापनसम्बन्धी कानुन संशोधन गरी दीर्घकालीन समाधान खोज्न माग गरेका छन् ।

सम्बन्धित समाचार