काठमाडौं । पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले एस्टन भिल्लालाई २–१ गोलले पराजित गर्दै लगातार दोस्रो वर्ष यूईएफए सुपर कपको उपाधि जितेको छ। साल्जबर्ग, अस्ट्रियामा भएको खेलमा पीएसजीका लागि ख्विचा क्वारात्स्खेलियाले २०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनले बायाँतर्फबाट भित्र छिर्दै शक्तिशाली प्रहारमार्फत बललाई नजिकको पोस्ट हुँदै जाली चुमाएका थिए।
तर एस्टन भिल्लाका १७ वर्षीय स्ट्राइकर ब्रायन माड्जोले आफ्नो पहिलो प्रतिस्पर्धात्मक खेलमै गोल गर्दै पीएसजीको अग्रता बराबरीमा ल्याए। जोन म्याकगिनको क्रसमा माड्जोले उत्कृष्ट भली प्रहार गर्दै गोल गरेका थिए।
खेलको ६१औँ मिनेटमा डिजिरे डुएले पीएसजीका लागि निर्णायक गोल गरे। उस्मान डेम्बेलेको पासमा भिल्लाको डिफेन्स पछाडि पुगेका डुएले बायाँ खुट्टाले टाढाको कुनामा प्रहार गर्दै गोल गरेका थिए।
सुरुमा अफसाइड भन्दै डुएको गोललाई मान्यता दिइएको थिएन। तर भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले पुनरावलोकन गर्दा एस्टन भिल्लाका राइट ब्याक माटी क्यासले डुएलाई अनसाइड राखेको देखिएपछि गोललाई मान्यता दिइएको थियो।
यो उपाधिसँगै पीएसजीले सम्भावित ६ उपाधिमध्ये पहिलो उपाधि जितेको छ। साथै, रियल मड्रिडले सन् २०१६ र २०१७ मा लगातार दुई पटक सुपर कप जितेयता लगातार दुईपटक उपाधि जित्ने पीएसजी पहिलो टोली बनेको छ।