काठमाडौँ । सरकारले कक्षा पाँचसम्म अध्ययनरत विद्यार्थीको आन्तरिक परीक्षा लिन बन्द गरेपछि विद्यालयहरूले वैकल्पिक विधिबाट मूल्याङ्कन गर्न थालेका छन्।
नयाँ प्रणाली सुरु गर्दा केही असहज भए पनि अहिले अभ्यास हुँदै गएको शिक्षकहरूले बताएका छन्। तर धेरै विद्यार्थी भएका कक्षामा प्रत्येक विद्यार्थीको छुट्टाछुट्टै अभिलेख राख्नुपर्ने भएपछि शिक्षकको कार्यबोझ बढेको उनीहरूको भनाइ छ।

गत चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी कार्यसूचीमा कक्षा पाँचसम्म आन्तरिक परीक्षा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको थियो।
आन्तरिक परीक्षाको सट्टा विद्यार्थीलाई मनोवैज्ञानिक असर र दबाब नपर्ने गरी वैकल्पिक मूल्याङ्कन प्रणाली विकास गर्ने व्यवस्था उक्त कार्यसूचीको बुँदा नम्बर ८९ मा उल्लेख छ। सोही व्यवस्थाअनुसार विद्यालयहरूले विद्यार्थीको मूल्याङ्कन गर्न थालेका हुन्।
शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा ४ र ५ का विद्यार्थीको मूल्याङ्कनसम्बन्धी ‘मार्गदर्शन, २०८३’ जारी गरेको छ।
मार्गदर्शनमा कक्षा सहभागिता, लिखित तथा मौखिक कार्य, परियोजना तथा प्रयोगात्मक कार्य, व्यवहार अवलोकन, विद्यार्थीको कार्य प्रदर्शन, घटनावृत्त अभिलेख, स्व तथा सहपाठी मूल्याङ्कन र अभिभावकको प्रतिक्रियालगायतका माध्यमबाट विद्यार्थीको मूल्याङ्कन गर्न सुझाइएको छ।
झोँछेस्थित बालसेवा माध्यमिक विद्यालयकी प्रधानाध्यापक मञ्जु पाठकले वैकल्पिक विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्न समस्या नभए पनि शिक्षकको कार्यबोझ भने बढेको बताउनुभयो।
उहाँका अनुसार प्रत्येक विद्यार्थीको छुट्टाछुट्टै अभिलेख व्यवस्थापन गर्नुपर्ने भएकाले शिक्षकलाई थप काम भएको हो। यद्यपि कक्षा १ देखि ३ सम्म यसअघि नै निरन्तर मूल्याङ्कन प्रणालीमार्फत विद्यार्थीको मूल्याङ्कन हुँदै आएकाले पूर्ण रूपमा नयाँ अभ्यास भने नभएको उहाँको भनाइ छ।
त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले मन्त्रालयले जारी गरेको मार्गदर्शनअनुसार शिक्षकलाई तालिम दिएर विद्यार्थीको मूल्याङ्कन भइरहेको बताउनुभयो।
विद्यालयले आन्तरिक मूल्याङ्कन प्रणाली अपनाए पनि त्रैमासिक रूपमा परीक्षाको नतिजाजस्तै ‘रिपोर्ट कार्ड’ तयार गरी अभिभावकलाई उपलब्ध गराउने तयारी गरेको उहाँले जानकारी दिनुभयो।
परीक्षाको जस्तो रिपोर्ट कार्ड नबनाउँदा विद्यार्थीले मूल्याङ्कनलाई गम्भीर रूपमा नलिने र त्यसको असर सिकाइ स्तरमा पर्न सक्ने चिन्ता रहेको कडेलले बताउनुभयो।
यसअघि विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले कक्षा १ देखि ३ सम्म शतप्रतिशत निरन्तर मूल्याङ्कन तथा कक्षा ४ र ५ मा आन्तरिक र बाह्य मूल्याङ्कन ५०/५० प्रतिशतको व्यवस्था गरेको थियो।
अब कक्षा पाँचसम्मै आन्तरिक मूल्याङ्कन गर्नुपर्ने भएपछि प्रत्येक विद्यार्थीको छुट्टाछुट्टै अभिलेख फाइल तयार गर्नुपर्ने अवस्था आएको छ।
बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु घिमिरेका अनुसार थोरै विद्यार्थी भएका कक्षामा यस्तो मूल्याङ्कन सहज भए पनि धेरै विद्यार्थी भएका कक्षामा कठिन हुने गरेको छ।
“हाम्रो जस्तो ठूलो विद्यालयमा एकै कक्षामा ५० जनासम्म विद्यार्थी छन्। आन्तरिक मूल्याङ्कन गर्नुपर्दा हरेक विद्यार्थीको व्यक्तिगत फाइल तयार पार्नुपर्छ, जुन अलि झन्झटिलो जस्तो भएको छ,” उहाँले भन्नुभयो।
शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यार्थी मूल्याङ्कन प्रणालीलाई समयअनुसार परिमार्जन गर्दै वैज्ञानिक र व्यावहारिक बनाउने जनाएको छ।
मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले आन्तरिक परीक्षा प्रणाली बन्द गरेपछि मूल्याङ्कनमा देखिएका समस्या अध्ययन गरी प्रणालीलाई थप प्रभावकारी बनाइने बताउनुभयो।
उहाँका अनुसार आन्तरिक परीक्षाको विकल्पमा अपनाइएको निरन्तर मूल्याङ्कन प्रणालीलाई अझ व्यावहारिक, व्यवस्थित र प्रभावकारी बनाउँदै लगिनेछ।