अमेरिकी अर्थतन्त्रमा बज्दै खतराे? राष्ट्रिय ऋण ४० ट्रिलियन डलर नाघ्यो

1k Shares

अमेरिकी राष्ट्रिय ऋण ४० ट्रिलियन डलर नाघेपछि विश्वकै ठूलो अर्थतन्त्रको वित्तीय अवस्थालाई लिएर चिन्ता बढ्न थालेको छ। पछिल्ला वर्षमा सरकारी खर्च वृद्धि, कर आम्दानीमा अपेक्षित सुधार नहुनु, कोभिड महामारी तथा सन् २००८ को वित्तीय संकटका क्रममा लिइएको ऋण र उच्च ब्याजदरका कारण अमेरिकाको ऋणभार तीव्र रूपमा बढेको हो।

सन् २०१६ मा अमेरिकी राष्ट्रिय ऋण २० ट्रिलियन डलरभन्दा केही कम थियो। करिब एक दशकमा यो दोब्बर भएर ४० ट्रिलियन डलर नाघेको हो। अमेरिकी कांग्रेसको संयुक्त आर्थिक समितिका अनुसार अमेरिकी ऋण प्रत्येक सेकेन्ड करिब ९० हजार डलर र दैनिक करिब ७.८ अर्ब डलरले बढिरहेको छ।

ऋणसँगै त्यसमा तिर्नुपर्ने ब्याज पनि अमेरिकाका लागि ठूलो चुनौती बनेको छ। सरकारी ऋणमा तिर्नुपर्ने ब्याज अघिल्लो वर्षको तुलनामा १५ प्रतिशत बढेको र यो सरकारको कर आम्दानीको करिब २० प्रतिशत बराबर पुगेको बताइएको छ। उच्च ब्याजदरका कारण नयाँ ऋण लिनसमेत सरकारलाई महँगो पर्दै गएको छ।

अमेरिका अहिले ४१.१ ट्रिलियन डलरको ऋण सीमाको नजिक पुगेको छ। अमेरिकी बजेट कार्यालयको प्रक्षेपणअनुसार सन् २०३६ सम्म राष्ट्रिय ऋण करिब ६४ ट्रिलियन डलर पुग्न सक्छ। यद्यपि अर्थशास्त्रीहरूले अमेरिकाको अवस्था तत्कालै आर्थिक संकटमा पुगिसकेको नभई ‘पहेँलो बत्ती’ बलिरहेको अवस्थाका रूपमा व्याख्या गरेका छन्।

अमेरिकी ऋण बढ्दै जाँदा त्यसको असर सर्वसाधारणसम्म पुग्न सक्ने चिन्ता पनि छ। उच्च ब्याजदरका कारण घर, गाडी तथा क्रेडिट कार्ड ऋण महँगिन सक्छ। व्यवसायको ऋण लागत बढ्दा वस्तु तथा सेवाको मूल्यसमेत बढ्न सक्ने अर्थशास्त्रीहरूको भनाइ छ।

अमेरिकाले समस्या समाधानका लागि आर्थिक वृद्धि बढाउने, कर प्रणाली सुधार गर्ने, सरकारी खर्च नियन्त्रण गर्ने तथा मितव्ययिता अपनाउनेजस्ता विकल्पमा जानुपर्ने देखिन्छ। तर, आगामी मध्यावधि निर्वाचनका कारण लोकप्रिय तर कठिन आर्थिक निर्णय लिन सरकारमाथि राजनीतिक दबाब रहेको विश्लेषण गरिएको छ।

सम्बन्धित समाचार