काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बंगलादेशका नवनिर्वाचित राष्ट्रपति मिर्जा फखरुल इस्लाम आलमगीरलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
बंगलादेशको २३औँ राष्ट्रपतिमा आलमगीर निर्वाचित भएकोमा राष्ट्रपति पौडेलले बधाई सन्देशमार्फत नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना व्यक्त गरेका हुन्। सन्देशमा राष्ट्रपति पौडेलले नेपाल र बंगलादेशबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने नेपालको प्रतिबद्धता दोहोर्याएका छन्।
नेपाल र बंगलादेशका जनतालाई आपसमा जोड्ने गहिरो जनस्तरीय सम्बन्धसहित दुई देशबीच विद्यमान बहुआयामिक सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
ढाकास्थित नेपाली राजदूतावासका अनुसार राष्ट्रपति पौडेलले बंगलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई पठाएको शुभकामना सन्देशमा दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने नेपालको चाहना व्यक्त गरेका छन्।