छिटो न्याय दिन अदालत प्रविधिमैत्री बन्नुपर्छ : प्रधानन्यायाधीश शर्मा
1.1k
Shares
बागलुङ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले जनतालाई छिटो न्याय दिने विषय अदालतको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ । उच्च अदालत पोखरा, बागलुङ इजलासको निरीक्षणका क्रममा उहाँले छिटो न्याय सम्पादन गर्न सके मात्रै न्यायालयप्रति जनताको विश्वास र भरोसा बढ्ने बताउनुभयो । उहाँले अदालतमा रहेका पुराना मुद्दालाई शून्यमा झार्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानन्यायाधीश शर्माले अदालतहरूलाई प्रविधिमैत्री बनाउँदै न्याय सम्पादनको प्रक्रियालाई थप प्रभावकारी बनाउन काम भइरहेको जानकारी दिनुभयो । जिल्ला अदालतलाई न्यायको पहिलो ढोका भन्दै सकेसम्म जिल्लाबाटै मुद्दाको टुंगो लगाउने प्रणाली विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।
उच्च अदालत बार एकाइ बागलुङका अधिवक्तासँगको अन्तर्क्रियामा उहाँले न्यायसम्बन्धी जनचेतना फैलाउन अधिवक्ताहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
उहाँका अनुसार उच्च अदालत पोखरा, बागलुङ इजलासमा दुई वर्षभन्दा पुराना मुद्दा निकै कम छन् । पुराना मुद्दा घटाउँदै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह भइरहेकाले सेवाग्राहीलाई सहज भएको उहाँले बताउनुभयो ।
प्रधानन्यायाधीश शर्माले देशभर बालविवाह, सम्बन्धविच्छेद र जबर्जस्ती करणीसम्बन्धी मुद्दा बढ्नु चिन्ताजनक भएको बताउनुभयो । अदालतलाई प्रविधिमैत्री बनाएर मात्रै छिटो र समयमै न्याय दिन सकिने उहाँको भनाइ छ ।
जिल्ला अदालत बागलुङमा पछिल्ला वर्षहरूमा मुद्दा फर्छ्योटको दरमा सुधार आएको छ । आर्थिक वर्ष २०८२/८३ मा अदालतले कुल मुद्दामध्ये ७७.९३ प्रतिशत फर्छ्योट गरेको थियो । त्यसपछि बाँकी मुद्दाको संख्या १९७ मा झरेको छ, जुन पछिल्लो पाँच वर्षकै सबैभन्दा कम हो ।
प्रधानन्यायाधीश शर्माले शनिबार बिहान बागलुङस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा समेत दर्शन गर्नुभएको थियो ।