अमेरिका–क्यानडा व्यापार युद्ध चर्कियो, ट्रम्पको ५० प्रतिशत करको कार्नीले दिए कडा जवाफ

1.5k Shares

काठमाडौं । अमेरिका र क्यानडाबीचको व्यापार विवाद थप चर्किएको छ। दुई देशबीच व्यापार सम्झौता गर्ने अन्तिम प्रयास असफल भएपछि अमेरिकाले क्यानडाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा ५० प्रतिशत नयाँ कर लगाएको छ। त्यसको जवाफमा क्यानडाले पनि आगामी ८ सेप्टेम्बरदेखि अमेरिकी सामानमा जवाफी कर लगाउने घोषणा गरेको छ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले शनिबार देशवासीलाई सम्बोधन गर्दै अमेरिकाले लगाएको नयाँ करको ‘डलर बराबर डलर’ को आधारमा जवाफ दिने बताएका छन्। उनले अमेरिकाको पछिल्लो कदमलाई ठूलो गलत आकलनको संज्ञा दिँदै यसले क्यानडालाई आर्थिक रूपमा कमजोर र विभाजित बनाउने उद्देश्य राखेको आरोप लगाए।

कार्नीका अनुसार अमेरिका र क्यानडाबीच अहिले व्यापार युद्धको अवस्था सिर्जना भएको छ। उनका अनुसार वार्ताका क्रममा अमेरिकाले क्यानडासँग धेरै माग राखेको तर त्यसको बदलामा निकै कम प्रस्ताव गरेको थियो।

क्यानडाले अमेरिकी स्टिल, इलेक्ट्रोनिक्स, डेरी उत्पादन, घरेलु उपकरणलगायतका सामानमा जवाफी कर लगाउने तयारी गरेको छ। साथै अमेरिकी करबाट प्रभावित कामदार र व्यवसायलाई सहयोग गर्न थप कार्यक्रमसमेत ल्याउने क्यानडेली सरकारले जनाएको छ। पछिल्लो १८ महिनामा सरकारले प्रभावित क्षेत्रलाई करिब २५ अर्ब क्यानडेली डलर बराबरको सहयोग उपलब्ध गराइसकेको जनाएको छ।

कुन सामानमा अमेरिकाले लगायो ५० प्रतिशत कर ?

अमेरिकाले क्यानडाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा नयाँ ५० प्रतिशत कर लगाएको हो। यसमा मदिरा, डेरी उत्पादन, सिमेन्ट, कपडा, हकी खेलका सामग्री, केही विद्युतीय उपकरण तथा कागजजन्य उत्पादनलगायत वस्तु छन्।

यद्यपि ऊर्जा, पोटास र माछालगायत केही प्रमुख क्यानडेली निर्यातलाई नयाँ करबाट बाहिर राखिएको छ। यसअघि नै स्टिल, आल्मुनियम, मोटरगाडी र काठजन्य उत्पादनमा लगाइएको अमेरिकी कर भने यथावत् छ।

अन्तिम चरणमा बिग्रियो व्यापार वार्ता

अमेरिका र क्यानडाबीच पछिल्ला केही सातादेखि व्यापार सम्झौताका विषयमा गम्भीर वार्ता हुँदै आएको थियो। अगस्ट १८ मा प्रधानमन्त्री कार्नीले वार्तामा उल्लेखनीय प्रगति भएको बताएका थिए। त्यसपछि अमेरिकाले ५० प्रतिशत कर लागू गर्ने समय अगस्ट २१ को अन्त्यसम्मका लागि स्थगित गरेको थियो।

तर अन्तिम चरणमा दुवै पक्षबीच सहमति हुन सकेन। क्यानडाले अमेरिकाले अन्तिम समयमा अनुचित र थप सर्तहरू राखेको आरोप लगाएको छ। अमेरिकी प्रस्तावमा क्यानडाले अन्य मुलुकसँग नयाँ व्यापार सम्झौता गर्ने क्षमतामा सीमितता तथा मध्यम र भारी ट्रकसम्बन्धी व्यापारमा प्रतिकूल प्रावधान राखिएको क्यानडेली पक्षको दाबी छ।

अमेरिकाले भने क्यानडाले अमेरिकी वस्तुमाथि भेदभाव गरेको आरोप लगाउँदै नयाँ करको बचाउ गरेको छ।

दुई देशको व्यापार सम्बन्धमा बढ्दो तनाव

अमेरिका र क्यानडा लामो समयदेखि घनिष्ठ आर्थिक तथा राजनीतिक साझेदारका रूपमा रहेका छन्। तर डोनाल्ड ट्रम्पको पछिल्लो कार्यकाल सुरु भएयता दुई देशबीच व्यापार करलाई लिएर निरन्तर तनाव बढ्दै आएको छ।

सन् २०२५ देखि सुरु भएको व्यापार विवादमा अमेरिकाले स्टिल, आल्मुनियम, मोटरगाडीलगायत विभिन्न क्षेत्रमा अतिरिक्त कर लगाएपछि क्यानडाले पनि जवाफी कदम चाल्दै आएको छ। पछिल्लो ५० प्रतिशत करले दुई देशबीचको व्यापार सम्बन्धलाई थप जटिल बनाएको छ।

विश्लेषकहरूले व्यापार विवाद लामो समयसम्म कायम रहेमा अमेरिका–क्यानडा सीमापार व्यापार, उद्योग तथा उपभोक्ताले तिर्नुपर्ने मूल्यमा समेत असर पर्न सक्ने बताएका छन्।

प्रधानमन्त्री कार्नीले भने अमेरिकामाथिको आर्थिक निर्भरता घटाउँदै अन्य मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्ने बताएका छन्। उनका अनुसार क्यानडाले हालसम्म २० भन्दा बढी नयाँ आर्थिक तथा सुरक्षा साझेदारी अघि बढाइसकेको छ।

व्यापार वार्ता असफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्नीको पछिल्लो वक्तव्यबारे तत्काल सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। दुई देशबीच पुनः व्यापार वार्ता कहिले सुरु हुन्छ भन्ने स्पष्ट समयतालिका पनि सार्वजनिक भएको छैन। यसले उत्तर अमेरिकाका यी दुई प्रमुख व्यापारिक साझेदारबीचको सम्बन्ध आगामी दिनमा थप तनावपूर्ण बन्न सक्ने संकेत गरेको छ।

सम्बन्धित समाचार