टोकियो । जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पका कारण टोकियोसहित पाँच प्रिफेक्चरमा कम्तीमा ३७ जना घाइते भएका छन्। अधिकारीहरूले भने सुनामीको खतरा नरहेको बताएका छन्।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको केन्द्रबिन्दु दक्षिणी इबाराकी प्रान्तमा जमिनको सतहबाट करिब ७० किलोमिटर गहिराइमा रहेको थियो। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भने भूकम्पको तीव्रता ५.८ म्याग्निच्युड रहेको जनाएको छ।
प्रिफेक्चरल अधिकारीहरू तथा अग्नि तथा विपद् व्यवस्थापन निकायका अनुसार टोकियोमा १५, साइतामामा नौ, कानागावामा आठ, चिबामा चार र इबाराकीमा एक जना घाइते भएका छन्। अधिकांश घाइते भूकम्पका क्रममा लड्दा वा फर्निचर तथा ढोकामा ठोक्किँदा चोट लागेको बताइएको छ।
कानागावा प्रान्तको योकोहामामा ८० वर्षीया एक महिला ओछ्यानबाट लडेर गम्भीर घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
भूकम्पका कारण टोकियो र नारिता विमानस्थल जोड्ने एक्सप्रेस रेल तथा उत्तरपूर्वी क्षेत्रमा सञ्चालन हुने केही स्थानीय रेल सेवामा ढिलाइ भएको थियो। यद्यपि, पूर्वी जापान रेलवे कम्पनीका अनुसार शिन्कानसेन बुलेट रेल सेवा भने सामान्य रूपमा सञ्चालन भएको थियो।
जापानका प्रधानमन्त्री साने ताकाइचीले सम्भावित क्षतिको मूल्याङ्कन गर्न सरकारले कार्यदल गठन गरेको बताउनुभएको छ। जापान मौसम विज्ञान एजेन्सीले प्रभावित क्षेत्रका बासिन्दालाई आगामी एक सातासम्म थप मध्यम खालका भूकम्प आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।
भूकम्पका कारण टोकियोको कोटो वार्डमा भूमिगत पानीको पाइपसमेत फुटेर सडकमा पानी बगेको थियो। पाइप मर्मत गरी चुहावट रोकिएको जनाइएको छ।
यसैबीच, आणविक नियमन प्राधिकरणले जापानका आणविक ऊर्जा केन्द्र तथा अन्य आणविक सामग्रीसम्बन्धी सुविधामा कुनै असामान्य अवस्था नरहेको जनाएको छ। -रासस/एपीको सहयोगमा