न्युजिल्यान्डमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी

1.8k Shares

काठमाडौं । न्युजिल्यान्ड सरकारले १६ वर्षमुनिका बालबालिकालाई इन्स्टाग्राम, टिकटक, फेसबुक र स्न्यापच्याटलगायत सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुन अघि बढाएको छ।

बालबालिकाको मानसिक स्वास्थ्य, निद्रा, पारिवारिक जीवन र अध्ययनमा सामाजिक सञ्जालको नकारात्मक प्रभाव बढ्दै गएको भन्दै सरकारले कडा उमेर सीमा प्रस्ताव गरेको हो।

प्रधानमन्त्री क्रिस्टोफर लक्सनले बालबालिकामाथि सामाजिक सञ्जालको बढ्दो प्रभावलाई बेवास्ता गर्न नसकिने बताएका छन्। उनका अनुसार १३ देखि १७ वर्ष उमेर समूहका तीनमध्ये एक बालबालिकाले दैनिक कम्तीमा पाँच घण्टा सामाजिक सञ्जालमा बिताउने गरेका छन्।

सामाजिक सञ्जालका कारण बालबालिका हानिकारक सामग्री, लत लगाउने प्रविधि र मानसिक दबाबको जोखिममा परेको प्रधानमन्त्री लक्सनको भनाइ छ।

प्रस्तावित कानुनी व्यवस्थाअनुसार सामाजिक सञ्जाल कम्पनीहरूले आफ्ना प्रयोगकर्ताको उमेर १६ वर्षभन्दा माथि भए–नभएको सुनिश्चित गर्नुपर्नेछ। उमेर प्रमाणीकरणका लागि खाता विवरण, अनुहार पहिचानमार्फत उमेर अनुमान गर्ने प्रविधि, डिजिटल परिचयपत्र वा औपचारिक परिचयपत्र प्रयोग गर्न सकिने प्रस्ताव गरिएको छ।

नियम उल्लङ्घन गर्ने सामाजिक सञ्जाल कम्पनीलाई उनीहरूको विश्वव्यापी राजस्वको १० प्रतिशतसम्म जरिवाना गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ। तर बालबालिका वा उनीहरूका अभिभावकलाई भने कुनै दण्ड नहुने शिक्षामन्त्री एरिका स्ट्यानफोर्डले बताएकी छन्।

सरकारभित्रै विरोध

प्रस्तावित कानुनलाई लिएर न्युजिल्यान्डको राजनीतिमा भने मतभेद देखिएको छ। सरकारमा सहभागी एक्ट पार्टी र एनजेड फर्स्टले प्रस्तावको विरोध गरेका छन्।

अस्ट्रेलियामा लागू गरिएको यस्तै व्यवस्थाले प्रभावकारी परिणाम नदिएको र किशोरकिशोरीले प्रतिबन्ध छल्न सक्ने उनीहरूको तर्क छ।

मुख्य विपक्षी लेबर पार्टीले पनि उमेर प्रमाणीकरण कसरी गर्ने र कुन–कुन सामाजिक सञ्जाल प्लेटफर्मलाई प्रतिबन्धको दायरामा राख्ने भन्ने विषयमा थप स्पष्टता आवश्यक रहेको बताएको छ।

लेबरका प्रवक्ता रुबेन डेभिडसनले अनलाइन वातावरण जटिल बन्दै गएकाले युवाको सुरक्षासम्बन्धी जोखिमलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।

अस्ट्रेलियाले यसअघि नै लागू गरिसकेको छ

अस्ट्रेलियाले गत डिसेम्बरमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुन लागू गरेको थियो। यस्तो व्यवस्था लागू गर्ने अस्ट्रेलिया विश्वकै पहिलो देश बनेको थियो।

बेलायत र फ्रान्सलगायतका देशले पनि बालबालिकालाई सामाजिक सञ्जालको नकारात्मक प्रभावबाट जोगाउन यस्तै उपाय अघि बढाइरहेका छन्।

यद्यपि, गत जुनमा प्रकाशित एक अध्ययनले अस्ट्रेलियामा प्रतिबन्ध लागू भएपछि किशोरकिशोरी सामाजिक सञ्जालबाट उल्लेख्य रूपमा टाढिएको प्रमाण निकै कम रहेको देखाएको थियो।

यसले उमेरका आधारमा सामाजिक सञ्जालमा लगाइने प्रतिबन्ध कत्तिको प्रभावकारी हुन्छ भन्ने विषयमा बहससमेत बढाएको छ।

सम्बन्धित समाचार