काठमाडौँ । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले ब्राजिलियन क्लब पाल्मेइरासका युवा विंगर एलेन इलियासलाई अनुबन्ध गर्ने भएको छ।
बेलायती सञ्चारमाध्यमका अनुसार सिटीले २२ वर्षीय ब्राजिलियन खेलाडीलाई अनुबन्ध गर्न अधिकतम ३ करोड ४२ लाख पाउन्ड खर्च गर्ने गरी सम्झौता गरेको हो।
बीबीसी र स्काई स्पोर्ट्सका अनुसार एलेनका लागि सिटीले सुरुवाती रूपमा ३ करोड २० लाख पाउन्ड तिर्नेछ। सम्झौतामा प्रदर्शन तथा अन्य सर्तका आधारमा थप २० लाख पाउन्डसम्म बोनस र प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ।
विंगरका रूपमा खेल्ने एलेनले आक्रमणकारी मिडफिल्डरको भूमिकासमेत निर्वाह गर्न सक्छन्। उनी सन् २०१९ मा पाल्मेइरासको युवा टोलीमा आबद्ध भएका थिए भने जनवरी २०२५ मा क्लबको सिनियर टोलीबाट डेब्यु गरेका थिए।
सिनियर टोलीमा डेब्यु गरेयता उनले पाल्मेइरासका लागि ९६ खेल खेलिसकेका छन्। यस क्रममा उनले ९ गोल गर्नुका साथै १२ गोलमा असिस्ट गरेका छन्।
एलेन पाल्मेइरासले सन् २०२४ र २०२६ मा जितेको साओ पाउलो राज्यको शीर्ष डिभिजन प्रतियोगिता क्याम्पियोनाटो पाउलिस्टा विजेता टोलीका सदस्यसमेत थिए।
ब्राजिलियन सञ्चारमाध्यमका अनुसार म्यानचेस्टर सिटीमा स्थानान्तरणको प्रक्रिया अघि बढिरहेका कारण एलेनले बुधबार सान्तोसविरुद्ध हुने कोपा डो ब्राजिलको क्वार्टरफाइनल खेल गुमाउन सक्ने सम्भावना छ।
उनको स्थानान्तरण प्रक्रिया पूरा भएपछि उनी युरोपेली फुटबलको शीर्ष क्लबमध्ये एक म्यानचेस्टर सिटीसँग नयाँ अध्याय सुरु गर्नेछन्।
सिटीले एलेनलाई ब्राजिलकै अर्का युवा खेलाडी साभिन्होको सम्भावित विकल्पका रूपमा भित्र्याउन लागेको बताइएको छ।
साभिन्हो म्यानचेस्टर सिटी छाडेर टोटनह्याम हट्सपर जाने तयारीमा रहेको रिपोर्ट सार्वजनिक भएका छन्। त्यसैले उनको सम्भावित बहिर्गमनपछि आक्रमणपंक्तिमा देखिन सक्ने रिक्तता पूर्ति गर्न सिटीले एलेनलाई रोजेको बताइएको छ।
एलेनको अनुबन्धसँगै सिटीले टोलीमा युवा प्रतिभालाई समावेश गर्दै भविष्यका लागि आक्रमणपंक्तिलाई थप बलियो बनाउने रणनीति अघि सारेको देखिन्छ।