धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै धादिङको आदमघाट क्षेत्रसम्म पुगेको छ। बाढी आदमघाट पार गरिसकेको प्रारम्भिक जानकारी प्राप्त भएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक शैलेन्द्र थापाका अनुसार भोटेकोशीमा आएको बाढी त्रिशूली नदी हुँदै आदमघाट क्षेत्रमा पुगेको हो। बाढीको बहाव अझ बढ्न सक्ने भएकाले त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम बढेको छ।
बाढीको बहावका कारण त्रिशूली नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन र सम्भावित जोखिमबाट जोगिन आग्रह गरिएको हो।
यसअघि रसुवाको भोटेकोशीमा अचानक आएको बाढीले टिमुरे बजारसहित आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। बाढी त्रिशूली नदीमा मिसिएपछि त्यसको प्रभाव नुवाकोट हुँदै धादिङतर्फ फैलिएको हो।
बाढीका कारण त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढेको छ। स्थानीय प्रशासन तथा सुरक्षा निकायले नदीको अवस्था र बहावमा निगरानी बढाएका छन्। यसैबीच, बाढीबाट भएको क्षतिको विस्तृत विवरण भने अझै प्राप्त हुन सकेको छैन। मानवीय तथा भौतिक क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ।
बाढीको बहाव तल्लो तटीय क्षेत्रमा निरन्तर अघि बढिरहेकाले धादिङलगायत त्रिशूली नदी आसपासका बासिन्दाले नदीमा पानीको सतह बढेको अवस्थामा तत्काल सुरक्षित स्थानतर्फ जानुपर्ने अवस्था रहेको छ।