काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सम्पर्क तथा सूचना आदानप्रदानमा सहज होस् भनेर नेपाल टेलिकमले प्रभावित क्षेत्रमा निःशुल्क दूरसञ्चार सेवा उपलब्ध गराउने भएको छ।
नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार प्रभावित क्षेत्रका सेवाग्राहीले दुई दिनसम्म अनलिमिटेड भ्वाइस सेवा, प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस निःशुल्क प्रयोग गर्न पाउनेछन्।
बाढीपछि प्रभावित क्षेत्रमा रहेका नागरिकको आपसी सम्पर्क तथा उद्धार र राहतसम्बन्धी सूचना आदानप्रदानलाई सहज बनाउन यस्तो व्यवस्था गरिएको टेलिकमले जनाएको छ।
टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन आग्रह गर्दै एसएमएसमार्फत निरन्तर सूचना तथा सचेतनामूलक सन्देशसमेत पठाइरहेको छ।
नेपाल टेलिकमका अनुसार बाढीका कारण रसुवामा दुई र नुवाकोटमा पाँच गरी सातवटा मोबाइल टावरमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। टावर तथा अन्य सेवा पूर्वाधारमा क्षति पुगेपछि केही क्षेत्रमा दूरसञ्चार सेवा प्रभावित भएको छ।
क्षतिग्रस्त टावर तथा सेवा पूर्वाधारको मर्मतसम्भारका लागि नेपाल टेलिकमको प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन भइसकेको छ। टोलीले सम्भव भएसम्म छिटो सेवा पूर्ववत् गराउने काम गरिरहेको टेलिकमले जनाएको छ।
रसुवाको भोटेकोशीमा बुधबार बिहान आएको आकस्मिक बाढीले नदी तटीय क्षेत्रका बस्ती तथा विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। बाढी नुवाकोट हुँदै धादिङतर्फ समेत पुगेपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियान जारी रहेकाले सञ्चार सेवा अत्यावश्यक बनेको अवस्थामा नेपाल टेलिकमको निःशुल्क सेवा योजनाले प्रभावित नागरिकलाई परिवार, उद्धारकर्मी तथा सम्बन्धित निकायसँग सम्पर्क गर्न सहज हुने अपेक्षा गरिएको छ।