काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीका कारण नेपाली सेनाका ४४ जना सैनिक सम्पर्कविहीन भएका छन्।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सम्पर्कविहीन सैनिकहरू लाङटाङ राष्ट्रिय निकुञ्ज तथा रसुवाका विभिन्न जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका थिए। बाढीपछि उनीहरूसँग सम्पर्क स्थापित हुन सकेको छैन।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य उद्धार संयन्त्र परिचालित छन्। सम्पर्कविहीन सैनिकहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको सेनाले जनाएको छ। स्थल तथा हवाई माध्यमबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार र सुरक्षित स्थानान्तरणसमेत भइरहेको छ।
पछिल्लो विवरणअनुसार बाढीका कारण अन्य सुरक्षा निकायका सुरक्षाकर्मीसँग पनि सम्पर्क हुन नसकेको छ। विभिन्न निकायबाट आउने विवरण संकलन भइरहेकाले सम्पर्कविहीनहरूको संख्या र अवस्थाबारे थप जानकारी आउने क्रम जारी रहेको छ।