रसुवा । रसुवामा बुधबार आएको भीषण भोटेकोसी बाढी उच्च हिमाली क्षेत्रमा भएको हिउँ–चट्टानको हिमपहिरो (आइस–रक एभालान्च) का कारण आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकहरूले घटनाबारे अध्ययन गरिरहेका छन्। प्रारम्भिक मूल्याङ्कनअनुसार ठूलो परिमाणमा हिउँ र चट्टानको गेग्रान भोटेकोसीको सहायक नदी ल्हेन्दे खोलामा खसेपछि अचानक ठूलो बहाव सिर्जना भएको हुन सक्ने देखिएको छ।
बाढीको बहाव असाधारण रहेको जलविज्ञानसम्बन्धी अवलोकनले देखाएको छ। गल्छीमा त्रिशूली नदीको पानीको सतह ३० मिनेटमै करिब ९ मिटर र मलेखुमा ७ मिटरसम्म बढेको बताइएको छ। बाढीका क्रममा त्रिशूली किनारका धेरै पानी मापन केन्द्र क्षतिग्रस्त वा बगेका छन्।
वैज्ञानिकहरूले गेग्रानका कारण नदीमा अस्थायी पहिरो बाँध बनेर पानी जम्मा भएको र त्यसपछि अचानक फुटेको सम्भावनासमेत अध्ययन गरिरहेका छन्। यस्तो अवस्था भएमा पुनः ठूलो बाढी आउन सक्ने जोखिम रहने भएकाले सम्भावित अवरोधको स्थान, आकार र स्थायित्वबारे निरन्तर मूल्याङ्कन भइरहेको छ।
त्यसैगरी, जिलुङ र झाङ्मुस्थित भूकम्पमापन केन्द्रमा बाढीको समयमा असामान्य सङ्केत रेकर्ड भएको पाइएको छ। यद्यपि ती सङ्केत हिमपहिरोसँग सम्बन्धित छन् कि छैनन् भन्ने अध्ययन भइरहेको र हालसम्म भूकम्पीय गतिविधि तथा बाढीबीच कुनै कारणात्मक सम्बन्ध स्थापित नभएको वैज्ञानिकहरूले बताएका छन्।
इसिमोडका विज्ञहरूले नेपाल–चीन सीमावर्ती क्षेत्रमा यस्तो विपद्को जोखिम रहेकाले सीमापार विपद् व्यवस्थापनका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएका छन्। जलविज्ञान, भूकम्पीय तथ्याङ्क, रिमोट सेन्सिङ तथा स्थलगत तथ्यांकको विश्लेषण जारी रहेको छ।