रसुवा बाढीले बगाएका नौ शव तनहुँमा फेला

1k Shares

दमौली । रसुवामा बुधबार आएको भीषण बाढीले बगाएर ल्याएका नौ जनाको शव तनहुँमा फेला परेको छ। प्रहरीले नदी क्षेत्रमा फेला परेका केही शव क्षतविक्षत अवस्थामा रहेको जनाएको छ।

तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार अहिलेसम्म रसुवा बाढीले बगाएर ल्याएका नौ वटा शव जिल्लाका विभिन्न स्थानमा भेटिएका छन्। बाढीका कारण तनहुँमा अन्य क्षति भएको विवरण भने हालसम्म प्राप्त नभएको उनले बताए।

आँबुखैरेनी गाउँपालिका–४ पुलजीपदेखि देवघाटसम्म त्रिशूली नदीको विभिन्न क्षेत्रमा शव फेला परेका हुन्। नदीमा फेला परेका शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि भरतपुर पठाउने तयारी गरिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार फेला परेका केही शव क्षतविक्षत अवस्थामा छन्। उनका अनुसार आँबुखैरेनीदेखि देवघाटसम्मको नदी क्षेत्रलाई प्राथमिकतामा राखेर खोजी तथा निगरानी बढाइएको छ।

प्रमुख जिल्ला अधिकारी तिवारीका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्लामा उपलब्ध स्रोतसाधनसहित सुरक्षा निकाय तथा सम्बन्धित टोलीलाई सतर्क अवस्थामा राखिएको छ। आवश्यकताअनुसार थप जनशक्ति र स्रोतसाधन परिचालन गरिने उनले बताए।

यसैबीच, भानुबाट टिमुरेतर्फ गएको चालकसहित तीन जना सम्पर्कविहीन रहेको सूचना प्राप्त भएको छ। उनीहरूको अवस्था हालसम्म अज्ञात रहेको र खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले आवश्यक पहल गरिरहेको प्रशासनले जनाएको छ।

सम्बन्धित समाचार