काठमाडौं । जापानी प्रधानमन्त्री सानाए ताकाइचीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। बाढीमा पाँच जना जापानी नागरिक बेपत्ता भएको खबरप्रति आफू अत्यन्तै चिन्तित रहेको उनले बताएकी छन्।
सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री ताकाइचीले बाढीबाट प्रभावित नेपाल सरकार र नेपाली जनताप्रति समवेदना प्रकट गरेकी हुन्। स्थानीय सञ्चारमाध्यममा पाँच जना जापानी नागरिक बेपत्ता भएको समाचार आएपछि आफू गम्भीर रूपमा चिन्तित भएको उनले उल्लेख गरेकी छन्।
उनका अनुसार नेपालस्थित जापानी दूतावासले बेपत्ता नागरिकहरूसँग सम्पर्क गर्ने निरन्तर प्रयास गरिरहेको भए पनि हालसम्म सम्पर्क हुन सकेको छैन। उनले उनीहरूको अवस्थाबारे जानकारी भए दूतावासलाई खबर गरिदिन अपिल गरेकी छन्।
ताकाइचीले जापानको समयअनुसार बिहान ३ः३० बजेसम्म नेपालमा सञ्चार सम्पर्कको अवस्थाबारे पूर्ण जानकारी प्राप्त नभएको उल्लेख गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका कसैसँग बेपत्ता जापानी नागरिकको सुरक्षा वा अवस्थाबारे सूचना भए नेपालस्थित जापानी दूतावासमा जानकारी गराउन आग्रह गरेकी छन्।
दूतावासमा सम्पर्कका लागि +९७७-१-४५२६-६८० नम्बर उपलब्ध गराइएको छ। प्रधानमन्त्री ताकाइचीले जापानी नागरिकसँगै नेपाली जनता र नेपालमा रहेका सबै विदेशी नागरिकको सुरक्षाको कामना गर्दै विपत्तिमा सबैको अमूल्य जीवन सुरक्षित रहोस् भन्ने प्रार्थना गरेकी छन्।