दोलखा । दोलखाको जिरी नगरपालिका–७ खुदुर्के, सेप्जेलोमा अविरल वर्षापछि पहिरो जाँदा बस्ती जोखिममा परेको छ। बुधबार राति करिब ८ बजे ठूलो वर्षासँगै अचानक पहिरो खसेपछि स्थानीयमा त्रास फैलिएको थियो।
बस्ती नै जोखिममा परेको खबर प्राप्त भएपछि वडा अध्यक्ष शान्ता नेपालीको पहलमा तत्काल उद्धार तथा राहतको काम अघि बढाइएको थियो। वडा अध्यक्ष नेपालीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयको टोली घटनास्थलमा पुगेको थियो।

टोलीले पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी जोखिममा रहेका घर तथा गोठमा रहेका स्थानीयलाई सुरक्षित स्थानतर्फ सार्न सहयोग गरेको थियो। सम्भावित थप पहिरोको जोखिमलाई ध्यानमा राख्दै उद्धार कार्यलाई प्राथमिकतामा राखिएको थियो।
उद्धारसँगै पहिरो प्रभावित परिवारलाई आवश्यक राहत सामग्री वितरणसमेत गरिएको छ। वडा अध्यक्ष शान्ता नेपालीको पहलमा उपलब्ध गराइएको राहत सामग्री सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा सम्बन्धित पहिरोपीडित परिवारसम्म पुर्याएर वितरण गरिएको हो।
राहत तथा उद्धार कार्यमा सशस्त्र प्रहरी र स्थानीयवासीले सक्रिय रूपमा हातेमालो गरेका थिए। जोखिमपूर्ण अवस्थामा समेत प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्न तथा आवश्यक राहत सामग्री पुर्याउन स्थानीयको महत्वपूर्ण भूमिका रहेको थियो।

अविरल वर्षाका कारण जमिन कमजोर भएकाले पहिरो प्रभावित क्षेत्रमा थप पहिरोको जोखिम भने कायमै रहेको छ। स्थानीयलाई सतर्क रहन तथा जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरिएको छ।
घटनापछि वडा अध्यक्ष नेपालीले उद्धार तथा राहत कार्यमा सहयोग गर्ने सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, स्थानीयवासी तथा अन्य सहयोगी सबै पक्षप्रति धन्यवाद व्यक्त गरेकी छन्। विपद्को समयमा स्थानीय सरकार, सुरक्षा निकाय र समुदायबीचको सहकार्यले प्रभावित नागरिकलाई तत्काल राहत तथा सुरक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।