भोटेकोशी बाढीका २६ घाइते टिचिङमा भर्ना, एकको ज्यान गयो

771 Shares

११ भदौ, काठमाडौं । तिब्बततर्फबाट रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी घाइते भएका २६ जनालाई बिहीबार बिहानसम्म त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएको छ।

अस्पतालका अनुसार उपचारका क्रममा २५ वर्षीय एक पुरुषको मृत्यु भएको छ। बाँकी घाइतेमध्ये ६ जनाको आईसीयूमा उपचार भइरहेको त्रिवि शिक्षण अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले जानकारी दिए।

डा. सेढाईंका अनुसार बाढी प्रभावित क्षेत्रबाट थप ५० देखि ६० जना घाइते उपचारका लागि अस्पताल आउन सक्ने सूचना प्राप्त भएको छ। सम्भावित बिरामीको चापलाई ध्यानमा राख्दै अस्पतालले आवश्यक तयारी गरिसकेको उनले बताए।

‘हामीले ५०–६० जना जति थप बिरामी आउन सक्ने अनुमान गरेका छौं। त्यहीअनुसार अस्पतालको तयारी गरेका छौं,’ प्रवक्ता डा. सेढाईंले बताए।

उनका अनुसार थप आउने घाइतेमध्ये अत्यन्त गम्भीर अवस्थाका तथा आईसीयू आवश्यक पर्नेभन्दा सामान्य चोटपटक लागेका बिरामीको संख्या बढी हुन सक्ने अनुमान गरिएको छ।

सम्भावित बिरामीको चाप व्यवस्थापन गर्न अस्पतालले उपचार टोलीसहित आवश्यक स्वास्थ्य सेवा तयारी अवस्थामा राखेको जनाएको छ।

तिब्बततर्फबाट आएको बाढीले रसुवा क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहँदा घाइतेलाई उपचारका लागि काठमाडौंलगायत विभिन्न स्थानका अस्पतालमा ल्याउने क्रम जारी छ।

यसैबीच, बाढीपछि सम्पर्कविहीन भएका आफन्तको खोजी गर्दै परिवारका सदस्यहरू अस्पताल पुग्न थालेका छन्। अस्पतालमा उपचाररत घाइतेको अवस्था तथा सम्पर्कविहीन व्यक्तिबारे जानकारी लिन आफन्तहरूको भीडसमेत बढेको छ।

सम्बन्धित समाचार