काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ सेमिफाइनल दौडबाट बाहिरिएको छ। बिहीबार भएको खेलमा हैदराबाद किङ्समेन एकेडेमीसँग ३१ रनले पराजित भएपछि नेपालको नकआउट चरण पुग्ने सम्भावना समाप्त भएको हो। डार्विनको गार्डन्स ओभलमा भएको खेलमा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेको थियो। हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनायो। जवाफी ब्याटिङ गरेको नेपाल १९.२ ओभरमा १६६ रनमा अलआउट भयो।कुशलको अर्धशतक खेर गयो
नेपालका लागि ओपनर कुशल भुर्तेलले ४६ बलमा ६६ रन बनाए। उनले ६ चौका र ४ छक्का प्रहार गरे। यस्तै लोकेश बमले २३ बलमा ३८ रन जोडे पनि अन्य ब्याटरले ठूलो साझेदारी गर्न नसक्दा नेपाल लक्ष्यभन्दा ३१ रन टाढा रोकियो।
हैदराबादका स्कट कुग्गेलेइनले ३ विकेट तथा अली शेखले २ विकेट लिए। पहिलो इनिङ्समा हैदराबादका सेहान जयसूर्याले ४४ बलमा ६७ रन बनाएर टोलीको ठूलो स्कोरमा महत्वपूर्ण योगदान दिए। हैदराबादले १९७ रन बनाएपछि नेपाललाई १९८ रनको लक्ष्य दिएको थियो। पाँच खेलमा नेपालको प्रदर्शन
हैदराबादसँगको हारपछि नेपालले प्रतियोगितामा ५ खेलबाट २ जित र ३ हारसहित ४ अंक जोडेको छ। प्रतियोगिताको अंकतालिकामा नेपाल हाल तल्लो स्थानतर्फ छ भने भिक्टोरिया सीए XI शीर्ष टोलीमध्ये रहेको छ। नेपालले यसअघि होबर्ट हरिकेन्स एकेडेमी र अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई पराजित गरेको थियो भने नर्दन टेरिटरी स्ट्राइक र बंगलादेश हाई परफर्मेन्स XI सँग हार बेहोरेको थियो।
अब प्रतिष्ठाका लागि अन्तिम खेल
नेपालको अब भिक्टोरिया सीए XI विरुद्ध खेल बाँकी छ। उक्त खेल २९ अगस्टमा डार्विनमा हुने तालिका छ। सेमिफाइनलको सम्भावना समाप्त भए पनि नेपालका लागि अन्तिम खेल प्रतियोगितामा सुखद अन्त्य गर्ने अवसरका रूपमा रहनेछ।