नेपाल नजिक चीनमा ठूलो ताल, बाँध फुट्ने जोखिम

1.8k Shares

काठमाडौं । नेपालसँग सीमा जोडिएको चीनको तिब्बत क्षेत्रमा ठूलो ताल बनेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नेपाल नजिकै छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम क्षेत्रमा ठूलो ताल बनेको हो। छोचेन खोला र पुरेपु त्साङ्पो त्रिशूली नदी प्रणालीका माथिल्ला सहायक नदीका रूपमा रहेका छन्।

तिब्बतबाट बग्ने यी नदीहरू रसुवागढी नजिक नेपाल प्रवेश गरेपछि भोटेकोशी–त्रिशूली नदी प्रणालीमा मिसिन्छन्। त्यसैले चीनतर्फ बनेको उक्त तालको अवस्था नेपालका लागि समेत चासोको विषय बनेको छ।

बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र तालबाट पानी बाहिरिनसमेत सुरु भइसकेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुन सक्ने अनुमान गरिएको छ। पानीको मात्रा बढ्दै गए तालको बाँध फुट्न सक्ने उच्च जोखिम रहेको चीनको केन्द्रीय टेलिभिजनले जनाएको छ।

सम्भावित बाँध फुट्ने घटनाबाट उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई निरन्तर निगरानी गरिरहेको छ। आपत्कालीन उद्धारका लागि तयारी गर्नुका साथै बाँध फुटेपछि आउन सक्ने बाढीको अवस्था आकलन गर्न बाढीसम्बन्धी विश्लेषणसमेत भइरहेको ग्लोबल टाइम्सले जनाएको छ।

सम्बन्धित समाचार