काठमाडौं । बुधबार बिहान अप्रत्याशित रूपमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न विद्यालयमा क्षति पुर्याएको छ । बाढीका कारण केही विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने केहीमा पानी र गेग्रान पस्दा पठनपाठन प्रभावित भएको छ ।
प्रारम्भिक विवरणअनुसार नुवाकोटका ६ र रसुवाका ६ विद्यालयमा क्षति पुगेको छ । धादिङका चार विद्यालयमा बाढी पसेर पठनपाठन रोकिएको छ । यस्तै, गोसाईंकुण्ड तीर्थयात्रामा गएका धादिङका आठ शिक्षक बुधबारदेखि सम्पर्कविहीन छन् ।
तिब्बतबाट आएको बाढी नेपाल प्रवेश गरेको रसुवामा विद्यालयतर्फको क्षतिको विस्तृत विवरण अझै संकलन हुन सकेको छैन । सञ्चार सम्पर्क विच्छेद हुँदा कुन विद्यालयमा कति क्षति भयो भन्ने यकिन गर्न कठिन भएको छ ।
प्रारम्भिक विवरणअनुसार जिल्लाका ६ विद्यालय प्रभावित भएका छन् । गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरेमा रहेको टिमुरे सामुदायिक विद्यालयको भवनमा ठूलो क्षति पुगेको छ । उत्तरगया गाउँपालिकास्थित उत्तरगया विद्यालयमा समेत क्षति पुगेको छ ।
टिमुरे क्षेत्रमा रहेका दुई बोर्डिङ र दुई सामुदायिक विद्यालयमा समेत क्षति पुगेको प्रारम्भिक जानकारी छ । तीमध्ये चार विद्यालय बाढीले बगाएको हुनसक्ने अनुमान गरिएको छ ।
रसुवाबाट सम्पर्कविहीन भएपछि नुवाकोट आइपुगेका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख दुर्गाप्रसाद सिलवालले सञ्चारका सबै माध्यम बन्द हुँदा क्षतिको विवरण संकलन गर्न नसकिएको बताए ।
‘फोन र नेट नहुँदा क्षतिबारे बुझ्नै नसक्ने अवस्था छ । कसैसँग सम्पर्क हुन सकेको छैन । बिजुली, टेलिफोन, नेट केही छैन,’ उनले भने, ‘६ घण्टा पर नुवाकोट आएर म सम्पर्कमा जोडिन पाएको हुँ ।’ गोसाईंकुण्ड–२ टिमुरे क्षेत्रमा बाढीले बढी क्षति पुर्याएको प्रारम्भिक जानकारी छ । उक्त क्षेत्रमा अझै सञ्चार सम्पर्क स्थापित हुन सकेको छैन ।
नुवाकोटमा बाढीले ६ विद्यालयमा क्षति पुर्याएको छ । तीमध्ये चार विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । विदुर नगरपालिका–५ स्थित त्रिभुवन त्रिशूल माध्यमिक विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । विद्यार्थी संख्या धेरै रहेको उक्त विद्यालयमा १ हजार ६४३ विद्यार्थी अध्ययनरत छन् ।
प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार बाढी आउनुअघि नै विद्यार्थी, शिक्षक र कर्मचारीलाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति हुन पाएन । बाढी आएको दिन करिब ५० जना त्रिशूली बजारमाथिको डाँडामा सुरक्षित बसेका थिए ।
विदुर–७ टुप्चेस्थित चण्डेश्वर माध्यमिक विद्यालयको छात्रावासमा समेत बाढीले पूर्ण क्षति पुर्याएको छ । विदुर–१० वेत्रावतीस्थित रामचन्द्र आधारभूत विद्यालय र उत्तरगया बोर्डिङ स्कुलका भौतिक संरचना पनि बाढीले पूर्ण रूपमा बगाएको छ ।
विदुर–६ का जेडी बोर्डिङ स्कुल र पायोनियर स्कुलमा भने भलपानी पसेको छ ।
बाढी आउँदा नुवाकोटका विद्यालयमा पठनपाठन चलिरहेको थियो । विद्यालयमै रहेका विद्यार्थी र घरमा रहेका अभिभावकबीच सडक तथा सञ्चार सम्पर्क विच्छेद हुँदा उनीहरूलाई भेट गराउन कठिन भएको छ ।
विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले सडक अवरुद्ध भएकाले उद्धार तथा राहतमा समेत समस्या भइरहेको बताइन् ।
‘बच्चा स्कुलमा, अभिभावक घरमा । बच्चा र अभिभावकको परिस्थिति कल्पना गर्दा मुटु बाहिर निस्कन्छ,’ उनले भनिन्, ‘सबै मिलेर काम गरिरहेका छौं । बच्चाहरूको ख्याल गर्न स्कुल र वरपरका स्थानीयलाई भनिरहेका छौं ।’
नुवाकोटका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सूर्य खत्रीका अनुसार विदुर र त्रिशूली क्षेत्रको सडक सम्पर्क विच्छेद भएकाले केही विद्यार्थीलाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा लैजाने र परिवारसँग भेट गराउने प्रयास भइरहेको छ ।
धादिङमा बाढीले चार विद्यालयमा प्रवेश गरेपछि पठनपाठन रोकिएको छ । गल्छी गाउँपालिकाका तीन र सिद्धलेक गाउँपालिकाको एक विद्यालय प्रभावित भएका हुन् ।
धादिङका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कृष्णकुमार श्रेष्ठका अनुसार गल्छी गाउँपालिकाका बागेश्वरी माध्यमिक विद्यालय, अमलेश्वर गुरुकुल विद्यालय र सक्सेस एकेडेमीमा बाढी पसेको छ । सिद्धलेक गाउँपालिकास्थित जलेश्वर माध्यमिक विद्यालयमा पनि बाढी पसेको थियो ।
विद्यालयमा ठूलो भौतिक क्षति नभए पनि तत्कालै कक्षा सञ्चालन गर्ने अवस्था नरहेको श्रेष्ठले बताए । पृथ्वी राजमार्ग सफा भएपछि मात्रै विद्यालय परिसरको सरसफाइ र आवतजावत सहज हुने उनको भनाइ छ ।
रसुवामा आएको बाढीका कारण गोसाईंकुण्ड तीर्थयात्रामा गएका धादिङका आठ शिक्षक बुधबारदेखि सम्पर्कविहीन छन् । धादिङका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख श्रेष्ठका अनुसार सम्पर्कविहीन हुनेमा तीन जना कार्यरत शिक्षक र पाँच जना पूर्वशिक्षक छन् ।
सम्पर्कविहीन हुने कार्यरत शिक्षकमा नीलकण्ठ नगरपालिकास्थित पशुपति माध्यमिक विद्यालयका ठाकुरप्रसाद लम्साल, देउराली माध्यमिक विद्यालयकी जानुका खनाल र पाल्पा सामरी भञ्ज्याङ माध्यमिक विद्यालयका शिवहरी लम्साल छन् ।
यस्तै, नीलकण्ठ नगरपालिकाका पूर्वशिक्षक तुलसी तिमिल्सेना र इश्वरीप्रसाद तिमिल्सेना, सिद्धलेक गाउँपालिकाका हरिप्रसाद सिलवाल र घनश्याम भट्ट तथा ज्वालामुखी गाउँपालिकाका नारायणप्रसाद लम्साल पनि सम्पर्कमा नरहेको बताइएको छ ।
रसुवा क्षेत्रमा सञ्चार सम्पर्क अवरुद्ध रहेकाले उनीहरूको अवस्थाबारे तत्काल जानकारी प्राप्त हुन सकेको छैन ।