ट्रम्पले भने– नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार

1.1k Shares

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढीपहिरोबाट प्रभावित नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन्।

अमेरिकी समाचार संस्था एनबीसी न्यूजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

राष्ट्रपति ट्रम्पले नेपालमा भोटेकोसी बाढीबाट भएको जनधनको क्षतिबारे आफूले जानकारी लिएको र नेपाली अधिकारीहरूसँग सम्पर्कमा रहेर आवश्यक सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएका छन्।

‘नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ,’ ट्रम्पलाई उद्धृत गर्दै एनबीसी न्यूजले जनाएको छ।

यसअघि अमेरिकी विदेश मन्त्रालयले पनि नेपालमा भएको विनाशकारी बाढीपछि मानवीय सहायता उपलब्ध गराउने जनाएको थियो। अमेरिकाले आपत्कालीन राहतका लागि ५ लाख अमेरिकी डलर सहयोग तथा विपद् प्रतिकार्यसम्बन्धी एक सल्लाहकार नेपाल पठाउने घोषणा गरिसकेको छ।

रसुवा, नुवाकोटलगायतका क्षेत्रमा भोटेकोसी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको छ। उद्धार तथा खोजी कार्य जारी रहेकाले क्षतिको पूर्ण विवरण अझै यकिन हुन बाँकी छ। अन्तर्राष्ट्रिय समुदायबाट नेपाललाई राहत तथा उद्धारमा सहयोग गर्ने क्रमसमेत बढिरहेको छ।

सम्बन्धित समाचार