त्रिशूली र नारायणी किनारमा भेटिएका १०२ शव पोखरा ल्याइयो

1.1k Shares

काठमाडौँ । त्रिशूली तथा नारायणी नदी किनारका विभिन्न स्थानमा फेला परेका १०२ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको छ। भोटेकोसी बाढीमा बगेकाको खोजी तथा उद्धारका क्रममा सुरक्षाकर्मी र स्थानीयवासीले धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासीलगायत जिल्लामा शव फेला पारेका थिए।

सम्बन्धित जिल्लामा शव व्यवस्थापन तथा परीक्षणका लागि पर्याप्त व्यवस्था नभएपछि ती शव पोखरा ल्याइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए।

उनका अनुसार बिहीबार राति पूर्वी नवलपरासीबाट ४१, तनहुँबाट २३, गोरखाबाट ११ र धादिङबाट २७ गरी १०२ शव पोखरा ल्याइएको हो। ती शवको व्यवस्थापन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ।

तनहुँका विभिन्न स्थानमा फेला परेका नौ शव भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएपछि मणिपाल शिक्षण अस्पतालमा पठाइएको बरालले बताए।

पोखरास्थित सरकारी तथा निजी अस्पतालमा गरी ८८ शव व्यवस्थापन गर्न सकिने क्षमता रहेको प्रशासनले जनाएको छ। फेला परेका शवको परीक्षण गरी पहिचानको प्रक्रिया अघि बढाइने भएको छ।

स्थानीय प्रशासनले शवको पहिचानका लागि आवश्यक विवरणसहित सार्वजनिक सूचना जारी गर्ने तयारीसमेत गरेको छ। पहिचान खुलेपछि सम्बन्धित परिवारलाई शव हस्तान्तरण तथा अन्तिम संस्कारको व्यवस्था गरिने जनाइएको छ।

भोटेकोसीमा आएको विनाशकारी बाढीपछि नदीको बहावसँगै बगेका व्यक्तिको खोजी गर्ने क्रममा त्रिशूली तथा नारायणी नदी किनारका विभिन्न जिल्लामा ठूलो संख्यामा शव फेला परेका हुन्। खोजी, पहिचान तथा शव व्यवस्थापनको काम सुरक्षाकर्मी र स्थानीय प्रशासनले निरन्तर गरिरहेका छन्। -रासस

 
 
सम्बन्धित समाचार