बाढीपहिरोका कारण विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन

1.1k Shares

काठमाडौँ । प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएपछि शिक्षा मन्त्रालयले भदौ १३ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ।

मन्त्रालयले स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्न सम्बन्धित विश्वविद्यालयलाई निर्देशन दिएको छ। यस्तै, भदौ १२ गतेका लागि निर्धारित परीक्षामा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीका लागि उपयुक्त समयमा परीक्षा सञ्चालनको व्यवस्था मिलाउनसमेत भनिएको छ।

मन्त्रालयले अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रमसमेत स्थगित गर्न निर्देशन दिएको छ। विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क, समन्वय र आवश्यक सहयोग तथा सहजीकरण गर्न पनि मन्त्रालयले भनेको छ।

त्यसैगरी, प्रभावित विद्यार्थी तथा आवश्यकताअनुसार अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्न र विपद्का कारण अध्ययनमा परेको असरलाई ध्यानमा राख्दै विद्यार्थीको शैक्षिक निरन्तरता तथा सहजीकरणका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

सम्बन्धित समाचार