काठमाडौँ । दक्षिण कोरियाले भोटेकोसी बाढीबाट प्रभावित नेपालप्रति ऐक्यबद्धता जनाउँदै कठिन समयमा आफूहरू नेपाल र नेपाली जनताको साथमा रहेको जनाएको छ।
दक्षिण कोरियाको विदेश मन्त्रालयले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाललाई आवश्यक सहयोग गर्न तयार रहेको जनाएको हो।
दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले नेपालमा आएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले विपद्को यस कठिन समयमा नेपाल र नेपाली जनतासँग दक्षिण कोरिया रहेको बताएका छन्।
बाढी प्रभावित क्षेत्रमा दक्षिण कोरियाका नागरिकसमेत बेपत्ता भएपछि त्यहाँको सरकारले उद्धार तथा खोजी कार्यमा सहयोग गर्न विशेष टोली नेपाल पठाउने निर्णय गरेको छ। दक्षिण कोरियाका नौ नागरिक बाढीपछि सम्पर्कविहीन रहेको र अन्य केही नागरिक प्रभावित क्षेत्रमा फसेको विवरण सार्वजनिक भएको छ।
दक्षिण कोरियाले नेपालमा बाढीपछिको मानवीय सहायता तथा उद्धारका लागि १० लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ। साथै, खोजी तथा उद्धारमा सहयोग पुर्याउन आपत्कालीन प्रतिक्रिया टोली परिचालन गरिएको छ।
यसैबीच नेपालमा आएको विनाशकारी बाढीपछि विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाले नेपालप्रति ऐक्यबद्धता जनाउँदै राहत, उद्धार तथा मानवीय सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिरहेका छन्।