रसुवा बाढीमा फसेकाको उद्धार गर्न चीन र भारतका सुरुङ विज्ञ टोली प्रभावित क्षेत्रमा

2.4k Shares

रसुवा । रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका लागि चीन र भारतका सुरुङ उद्धार विशेषज्ञ टोली प्रभावित क्षेत्रमा पुगेका छन्। चीनले पठाएको उद्धार टोली हेलिकोप्टरमार्फत सीधै रसुवाको बाढी प्रभावित क्षेत्रमा पुगेको हो। टोलीमा सुरुङ उद्धारसम्बन्धी चार जना विज्ञ रहेका छन्।

यस्तै, भारतबाट पनि सुरुङ उद्धारसम्बन्धी ११ सदस्यीय विज्ञ टोली रसुवा पुगेको छ। भोटेकोसी नदीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारमा सहयोग गर्न दुवै छिमेकी मुलुकले विशेषज्ञ टोली पठाएका हुन्।

गत बुधबार भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीका कारण हजारौँ मानिस प्रभावित भएका छन् भने केही व्यक्ति जलविद्युत् आयोजनाका संरचना तथा सुरुङमा फसेका छन्।

नेपालका सुरक्षाकर्मीले निरन्तर खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेका बेला चीन र भारतबाट आएका सुरुङ उद्धार विशेषज्ञ टोलीले समेत उद्धार कार्यमा प्राविधिक सहयोग गर्नेछन्।

सुरुङभित्र फसेकाहरूको अवस्थाबारे जानकारी लिने, उद्धारका लागि आवश्यक प्राविधिक उपाय पहिचान गर्ने तथा सुरुङभित्र प्रवेश र सुरक्षित उद्धारका लागि विशेषज्ञ टोलीले नेपाली उद्धारकर्मीसँग समन्वय गर्ने जनाइएको छ।

सम्बन्धित समाचार