चीनले नेपाललाई आपत्कालीन नगद र मानवीय सहायता दिने

2.4k Shares

काठमाडौं । चीनले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई आपत्कालीन नगद तथा मानवीय सहायता उपलब्ध गराउने भएको छ।

चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाली विदेशमन्त्री शिशिर खनालसँग शनिबार टेलिफोन वार्ता गर्दै नेपाललाई सहायता प्याकेज प्रस्ताव गरिएको र त्यसको कार्यान्वयन छिट्टै हुने बताएका छन्।

चिनियाँ विदेश मन्त्रालयका अनुसार हालै चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरोपछि नेपालतर्फ भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा डुबानले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको विषयमा दुवै विदेशमन्त्रीबीच कुराकानी भएको थियो।

विदेशमन्त्री वाङले केरुङ–रसुवा सीमा क्षेत्र आसपास भएको गम्भीर विपद्का कारण ठूलो जनधनको क्षति, मानिसहरू बेपत्ता हुनुका साथै भौतिक संरचनामा क्षति पुगेकोप्रति नेपाल र नेपाली जनताप्रति सहानुभूति व्यक्त गरेका छन्।

उनले चीनले नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेको र त्यसमा आपत्कालीन नगद सहायता तथा मानवीय सहायता समावेश रहेको जानकारी दिएका छन्। उक्त सहायता प्याकेज कार्यान्वयनको प्रक्रियामा रहेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

यसअघि पनि चीनले भोटेकोशी बाढीपछि राहत सामग्री तथा उद्धारका लागि सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो।

सम्बन्धित समाचार