काठमाडौँ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि चीनले अत्यावश्यक राहत सामग्री नेपाल पठाएको छ। चीनको वायुसेनाका दुईवटा वाई–२० ठूलो क्षमताका सैन्य कार्गो विमान आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकपछि अर्को अवतरण गरेका छन्।
आइतबार बिहान करिब ७ बजे काठमाडौँ आइपुगेका ती दुई विमानमा गरी १३ हजार २०० थान अत्यावश्यक राहत सामग्री रहेको जनाइएको छ। चीनले बाढी तथा विपद् प्रभावितका लागि पहिलो चरणमा दुईवटा सैन्य कार्गो विमानमार्फत उक्त राहत सामग्री पठाएको हो।
यसैबीच, अर्को विमान पनि राहत सामग्री लिएर चीनको सिचुआन प्रान्तको राजधानी छङ्तुबाट काठमाडौँका लागि प्रस्थान गरिसकेको बताइएको छ।
चीनले यसअघि सुरुङ उद्धार तथा प्राविधिक कार्यमा विशेषज्ञता भएका दुई टोलीसमेत नेपाल पठाइसकेको छ। जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा बाढीका कारण फसेका व्यक्तिको खोज तथा उद्धारमा ती टोली परिचालित छन्।

रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि नेपाली सुरक्षाकर्मी तथा प्राविधिक टोलीसँगै चीन र भारतबाट आएका विशेषज्ञ टोलीसमेत परिचालित छन्।
चीनले नेपाललाई राहत सामग्रीसँगै २० लाख अमेरिकी डलर नगद सहायता उपलब्ध गराउने घोषणा यसअघि नै गरिसकेको छ। चीनबाट प्राप्त सहयोग बाढी प्रभावित क्षेत्रमा जारी खोज, उद्धार तथा राहत अभियानलाई थप प्रभावकारी बनाउन केन्द्रित रहेको बताइएको छ।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको छ। बाढीले जलविद्युत् आयोजना, बस्ती, सडक तथा अन्य महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ।
