त्रिशूली–३ ‘ए’ आयोजनामा फेरि बाढी, उद्धारमा थप चुनौती

953 Shares

काठमाडौँ । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धारका लागि सरकारले रातभर सञ्चालन गरेको प्रयासलाई आइतबार पनि निरन्तरता दिएको छ। तर, आइतबार बिहान करिब ४ बजे आयोजनास्थलमा पुनः बाढी आएपछि खोजी तथा उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार पुनः आएको बाढीका कारण त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको छ। नदीको सतह अत्यधिक बढेपछि आयोजनास्थलको किनारमा तीव्र कटानसमेत सुरु भएको छ।

बाढी र पहिरोका कारण आयोजनास्थलमा ठूलो मात्रामा माटो तथा लेदो थुप्रिएको छ। जोखिमपूर्ण अवस्थाबीच आयोजनाको समग्र क्षति तथा वर्तमान अवस्थाको अवलोकन गरी माटो र लेदो हटाउन डोजर तथा अन्य भारी उपकरण परिचालन गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसैबीच पहिरो र माटोले पुरिएको माथिल्लो त्रिशूली–३ ‘ए’ को टनेल पोर्टल तथा पावर हाउसमा रहेका महत्वपूर्ण उपकरण सुरक्षित रूपमा निकाल्ने तयारी पनि भइरहेको छ। आयोजनाको नियन्त्रणमा रहेका १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्सलगायतका उपकरण निकाल्ने तयारी गरिएको हो।

सडक पहुँच अवरुद्ध भएकाले ती उपकरण निकाल्न हेलिकप्टरमार्फत विशेष टोली आयोजनास्थलमा उतार्ने तयारी गरिएको छ। उक्त टोलीले पुरिएको भवननजिक पुगेर आवश्यक उपकरण सुरक्षित रूपमा बाहिर निकाल्नेछ।

प्रतिकूल मौसम, पहिरो र निरन्तर बढिरहेको नदीको बहावका कारण उद्धार तथा क्षति व्यवस्थापनको काम जोखिमपूर्ण बनेको भए पनि सरकारले पूर्ण सतर्कताका साथ खोजी, उद्धार तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएको जनाएको छ।

सम्बन्धित समाचार