नुवाकोटका होल्डिङ सेन्टरमा राहत वितरण, नदीपारिका बस्तीमा भने अझै कठिनाइ

1.1k Shares

नुवाकोट । भोटेकोसी बाढीबाट प्रभावित नुवाकोटका नागरिकलाई जिल्ला विपद् व्यवस्थापन समितिले होल्डिङ सेन्टरमार्फत राहत सामग्री वितरण गरिरहेको छ। समितिमा प्राप्त राहत सामग्री एकीकृत रूपमा सङ्कलन गरी आवश्यकता र प्रभावितको अवस्थाका आधारमा विभिन्न होल्डिङ सेन्टरमा पठाउने गरिएको छ।

नुवाकोटमा हाल १३ वटा होल्डिङ सेन्टर सञ्चालनमा छन्। तीमध्ये विदुर नगरपालिकामा नौ, किस्पाङ गाउँपालिकामा दुई तथा सूर्यगढी गाउँपालिका र बेलकोटगढी नगरपालिकामा एक–एक वटा होल्डिङ सेन्टर स्थापना गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले दाता तथा इच्छुक व्यक्तिले उपलब्ध गराउन चाहेका राहत सामग्री एकद्वार प्रणालीमार्फत समितिले सङ्कलन गरिरहेको बताए।

‘बाढीप्रभावितलाई दाता तथा इच्छुकले दिन चाहेका राहत सामग्री एकद्वार प्रणालीअन्तर्गत जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सङ्कलन गरिरहेका छौँ,’ उनले भने, ‘त्यसैअनुसार आवश्यकताका आधारमा ती सामग्री होल्डिङ सेन्टरमा पठाइरहेका छौँ।’

सडकबाट गाडी पुग्न नसक्ने स्थानमा भने हेलिकप्टरमार्फत राहत सामग्री पठाउने गरिएको उनले जानकारी दिए। स्थानीय तहले होल्डिङ सेन्टरमा आश्रय लिएका बाढीपीडितका लागि खाना तथा बासको व्यवस्थामा सहजीकरण गरिरहेका छन्। प्रत्येक केन्द्रमा स्वास्थ्य जाँच तथा परिवारसँग छुट्टिएका व्यक्तिको पुनर्मिलनको व्यवस्थासमेत गरिएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताए।

बाढीबाट भएको जनधनको क्षतिको विवरण सङ्कलन गर्ने तथा प्रदेश र संघीय सरकारसँग समन्वय गरी आवश्यक काम अघि बढाइएको उनको भनाइ छ।

तर राहत वितरणका लागि एकद्वार प्रणाली अपनाइएको भए पनि सहज पहुँच भएका होल्डिङ सेन्टरमा केही दाता तथा व्यक्तिले आफैँ पुगेर राहत सामग्री वितरण गर्दा सबै केन्द्रमा समान रूपमा सामग्री पुग्न सकेको छैन।

विदुर नगरपालिका–५ का वडाध्यक्ष लीलानाथ न्यौपानेले आफ्नो क्षेत्रमा तत्कालका लागि पर्याप्त राहत सामग्री उपलब्ध भइसकेकाले अन्य प्रभावित क्षेत्रमा पनि सामग्री पठाउन दातालाई आग्रह गरिएको बताए।

राहतमा मुख्यतः चामल, दाल, चाउचाउ र बिस्कुटजस्ता खाद्य सामग्री प्राप्त भइरहेका छन्। खाद्य सामग्रीको तुलनामा लत्ताकपडा भने कम प्राप्त भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

नुवाकोटमा विदुर नगरपालिकाको बेत्रावती, त्रिशूली, ढुङ्गे, सिमचौर र देवीघाट बढी प्रभावित भएका छन्। किस्पाङ गाउँपालिकाका शान्तिबजार, नयाँ पुल र मैलुङ क्षेत्रका बस्ती पनि बाढीबाट प्रभावित भएका छन्। बेलकोटगढी नगरपालिकाका ठूलो खोला, बुधसिहघाट, रातमाटे, कोलचौर, केउरेनी र कोल्पुटारलगायतका बस्ती प्रभावित छन्।

सूर्यगढी गाउँपालिकाको कार्यालयमा सञ्चालन गरिएको होल्डिङ सेन्टरमा भने रसुवा र नुवाकोटका विभिन्न स्थानबाट बाढीबाट ज्यान जोगाएर सुरक्षित स्थानको खोजीमा पुगेकाहरूलाई आश्रय दिइएको छ।

नदीपारिका क्षेत्रमा राहत पुर्‍याउन सकस

सदरमुकाम विदुरतर्फका क्षेत्रमा राहत वितरण तुलनात्मक रूपमा सहज भए पनि त्रिशूली नदीपारिका बस्तीमा राहत सामग्री पुर्‍याउन कठिनाइ भइरहेको छ। केही संस्थाले ड्रोनमार्फत समेत राहत सामग्री होल्डिङ सेन्टरसम्म पुर्‍याइरहेका छन्।

नदीपारिका प्रभावित बस्ती विदुर नगरपालिका–१, ३, ६, ७, ९ र १२ मा पर्छन् । त्रिशूली बजार, खड्गभञ्ज्याङ, चैनपुर आसपास, तुप्चे, सिलट्याङ्की र चारघरेलगायतका क्षेत्रका बासिन्दा प्रभावित भएका छन्।

सदरमुकामबाट त्रिशूली नदीपारि सातवटा होल्डिङ सेन्टर सञ्चालनमा छन्। तादी र कोल्पुखोलाको पुल बाढीले बगाएपछि बेलकोटगढी–७ स्थित महादेव माध्यमिक विद्यालयमा सञ्चालन गरिएको होल्डिङ सेन्टरमा समेत राहत सामग्री पुर्‍याउन हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था छ।

शनिबार जिल्ला समन्वय समितिले आयोजना गरेको सर्वपक्षीय छलफलमा स्थानीयवासीले नदीपारिका क्षेत्रमा राहत वितरणलाई प्राथमिकता दिन संघीय सरकारसँग आग्रह गरेका थिए।

बाढीका कारण पुलहरू बगाउँदा वारि–पारि विद्यालय जाने बालबालिकासमेत प्रभावित भएका छन्। विद्यालय जाने क्रममा बाढी आएपछि पुल बग्दा केही बालबालिका चार दिनदेखि परिवारसँग सम्पर्कविहीन अवस्थामा रहेको अभिभावकहरूले गुनासो गरेका छन्।

स्वास्थ्य सेवा पनि सञ्चालन

बाढीपीडितलाई लक्षित गरी होल्डिङ सेन्टरमा स्वास्थ्य सेवा पनि उपलब्ध गराइएको छ। त्रिशूली अस्पतालसँग यातायात सम्पर्क विच्छेद भएको अवस्थामा पीडितहरूको शारीरिक तथा मानसिक अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य सेवा सञ्चालन गरिएको हो।

नुवाकोटमा बाढीपछि मृत्यु तथा बेपत्ताको यकिन तथ्यांक भने अझै सङ्कलन हुन सकेको छैन। पहिचान नभएका शव व्यवस्थापनका विषयमा शनिबार सरोकारवालाबीच छलफलसमेत भएको थियो।

प्रमुख जिल्ला अधिकारी रेग्मीले जिल्लामा करिब तीन सय शव व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख बिपीन रेग्मीका अनुसार शनिबारसम्म ८२१ जना बेपत्ता भएको निवेदन प्राप्त भएको छ।

यसैबीच आइतबार बिहान पनि त्रिशूली नदीको जलसतह बढेकाले नदी किनारमा रहेका शव व्यवस्थापनमा थप चुनौती देखिएको छ। प्रशासनले खोजी, उद्धार, राहत वितरण तथा शव व्यवस्थापनका कामलाई जोखिमका बीच निरन्तरता दिइरहेको जनाएको छ।

सम्बन्धित समाचार