त्रिशूली–३ ‘ए’ को सुरुङ प्रवेशद्वार खोल्ने काम अन्तिम चरणमा, उद्धार तीव्र

1.2k Shares

काठमाडौँ । रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेनाले अभियान तीव्र बनाएको छ।

आयोजनास्थलसम्म पुग्ने सडक अवरुद्ध भएपछि सेनाले स्काभेटर र डोजर नुवाकोटको बट्टारसम्म पुर्‍याएर डिसमेन्टल गरी हेलिकप्टरमार्फत आयोजनास्थल लैजाने काम गरिरहेको छ। बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनासहितको टोली चौबीसै घण्टा खटिएको छ।

गएराति पुनः भीषण बाढी आए पनि उद्धार तथा आयोजनास्थलसम्म पहुँच निर्माणको काम नरोकिएको सेनाले जनाएको छ।

सेनाका अनुसार माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङको प्रवेशद्वार खोल्ने काम अन्तिम चरणमा पुगेको छ। गृह मन्त्रालयका अनुसार करिब एक घण्टाभित्र टनेल इन्ट्री खोल्ने लक्ष्य राखिएको थियो। प्रवेशद्वार खुलेपछि सुरुङभित्र फसेका व्यक्तिको खोजी तथा उद्धारलाई थप तीव्रता दिइनेछ।

सुरुङभित्र रहेका व्यक्तिको जीवनरक्षाका लागि हावा तथा अक्सिजन पुर्‍याउने प्रयाससमेत भइरहेको छ। भर्टिकल होलमार्फत सुरुङभित्र अक्सिजन पठाइएको छ भने प्राविधिक टोलीले सुरुङभित्र फसेकासँग सम्पर्क स्थापित गर्ने प्रयास गरिरहेको छ।

उद्धार तथा निर्माण कार्यमा खटिएका रास्वपा सांसद श्रीराम न्यौपानेले आफूले विगतमा करिब १५ किलोमिटर सुरुङ खनेको अनुभवलाई अहिले उद्धारका लागि प्रयोग गरिरहेको बताएका छन्। उनका अनुसार सुरुङको करिब २४ मिटर भागमा डेब्रिस नभएको अवस्थामा हावा, ध्वनि, पानी र खानेकुरा पठाउने तयारी गरिएको छ।

त्रिशूली–३ ‘बी’ मा पनि उद्धार जारी

रसुवाकै त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार जारी छ। पछिल्लो विवरणअनुसार त्यहाँको ‘फ्रन्ट फेस’मा चारवटा प्वाल ड्रिलिङ सम्पन्न भएको छ।

अब फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार अघि बढाउने तयारी भइरहेको छ। उद्धारलाई सुरक्षित र प्रभावकारी बनाउन आवश्यक प्राविधिक तयारी तथा समन्वय जारी रहेको छ।

९३४ जना अझै सम्पर्कविहीन

बाढीका कारण रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा ठूलो जनधनको क्षति भएको छ। प्राप्त विवरणअनुसार रसुवाका सातवटा जलविद्युत् आयोजनाबाट ७३० जना र नुवाकोटका छवटा आयोजनाबाट २०४ जना गरी कुल ९३४ जना अझै सम्पर्कविहीन छन्।

सडक तथा पहुँचमार्ग क्षतिग्रस्त भएकाले उद्धार सामग्री र उपकरण आयोजनास्थलसम्म पुर्‍याउन कठिनाइ भइरहेको छ।

विदेशी दक्ष जनशक्ति र उपकरण ल्याउन माग

जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपालभित्र उपलब्ध स्रोतसाधन र जनशक्तिबाट मात्रै काम गर्दा उद्धार प्रक्रिया ढिलो हुन सक्ने भन्दै नेपाल विद्युत् प्राधिकरणका प्राविधिकहरूले विदेशी दक्ष जनशक्ति र आवश्यक उपकरण तत्काल झिकाउनुपर्ने बताएका छन्।

उद्धारका लागि अन्तर्राष्ट्रियस्तरको दक्ष जनशक्ति तथा सुरुङ उद्धारमा प्रयोग हुने आवश्यक उपकरण परिचालन गर्नुपर्ने उनीहरूको माग छ।

हाल नेपाली सेना, जलविद्युत् आयोजनाका प्राविधिक तथा अन्य उद्धार टोली सुरुङभित्र पहुँच पुर्‍याउने र फसेकाहरूलाई बाहिर निकाल्ने प्रयासमा केन्द्रित छन्। सुरुङको प्रवेशद्वार खुलेपछि खोज तथा उद्धार कार्यलाई थप तीव्रता दिने तयारी गरिएको छ।

सम्बन्धित समाचार