काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीबाट नेपालले भोगेको क्षतिप्रति चीनले गहिरो दुःख व्यक्त गर्दै विपद्को समयमा नेपाल एक्लै नरहेको जनाएको छ। चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छियाङले नेपाल र नेपाली जनताको साथमा चीन रहेको सन्देश दिएका छन्।
आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चीनका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश सुनाएका हुन्। उनी प्रधानमन्त्री राहत कोषमा चीन सरकारले घोषणा गरेको सहयोग रकम हस्तान्तरण गर्न अर्थ मन्त्रालय पुगेका थिए।
राजदूत झाङका अनुसार राष्ट्रपति सी र प्रधानमन्त्री लीले बाढीका कारण नेपालमा ज्यान गुमाएका नागरिकप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। विपद्को दुःखमा नेपाल एक्लै नरहेको र चीन सधैँ नेपाल तथा नेपाली जनताको साथमा रहने उनीहरूको सन्देश रहेको राजदूतले बताए।
भेटका क्रममा राजदूत झाङले चीन सरकारका तर्फबाट प्रधानमन्त्री राहत कोषका लागि २० लाख अमेरिकी डलर अर्थात् झन्डै साढे ३० करोड रुपैयाँ बराबरको चेक अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरे।
त्यस्तै, चिनियाँ रेडक्रसले २ लाख अमेरिकी डलर अर्थात् करिब ३ करोड ६ लाख रुपैयाँ बराबरको नगद सहयोग उपलब्ध गराएको छ। उक्त रकम पनि राजदूतले हस्तान्तरण गरेका छन्।
सहयोग हस्तान्तरण गर्दै राजदूत झाङले हिमालय क्षेत्रमा आएको ठूलो विपत्तिको सामना नेपाल र चीनले मिलेर गर्ने बताएका छन्। उनले नेपालमा उद्धार तथा राहतका लागि चीनको सहयोग निरन्तर रहने प्रतिबद्धता पनि जनाएका छन्।
चीन सरकारले घोषणा गरेका अन्य राहत सामग्री पनि नेपाल भित्रिन थालेको राजदूत झाङले जानकारी दिएका छन्। उनका अनुसार आइतबार मात्रै दुईवटा चिनियाँ विमानले काठमाडौंमा ५० टन राहत सामग्री ल्याएका छन्।
ती विमानमार्फत टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुट लगायतका सामग्री ल्याइएको हो। आगामी दिनमा पनि चीनबाट थप सहयोग आउने राजदूतले बताएका छन्।
रसुवा बाढीका कारण चीनतर्फ रोकिएका नेपाली नागरिकलाई नेपाल फर्काउने विषयमा पनि चीनले पहल गरिरहेको राजदूत झाङले जानकारी दिए।
उनका अनुसार उनीहरूलाई मुस्ताङको कोरोला नाका हुँदै नेपाल ल्याउने विषयमा पहल भइरहेको छ।
बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि चीनले दक्ष जनशक्ति परिचालन गरेको छ।
राजदूत झाङका अनुसार चिनियाँ हेलिकोप्टरसहितको दक्ष उद्धार टोली यसअघि नै नेपाल आइसकेको थियो। आइतबार थप दक्ष उद्धार प्राविधिकहरू पनि नेपाल आइपुगेका छन्।
नेपाल सरकारले उद्धार कार्यका लागि माग गरेको ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउन चीनले तीव्र गतिमा काम गरिरहेको राजदूत झाङले अर्थमन्त्रीलाई जानकारी गराएका छन्।
बाढी तथा पहिरोका कारण सडक र स्थलमार्ग अवरुद्ध भएका दुर्गम क्षेत्रमा राहत सामग्री पुर्याउन यस्ता ड्रोन उपयोगी हुने अपेक्षा गरिएको छ।
राजदूत झाङले विपद्पछिको उद्धार, राहत र पुनःस्थापनामा चीनले नेपाललाई आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता दोहोर्याएका छन्।