कास्कीमा पहिचान हुन बाँकी ८७ शवको वैकल्पिक व्यवस्थापन गरिँदै

2.3k Shares

लेखनाथ । विपद्का कारण व्यवस्थापनका लागि कास्की ल्याइएका १०२ शवमध्ये आइतबार साँझसम्म १५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ । बाँकी ८७ शवको पहिचान हुन सकेको छैन ।

आइतबार साँझसम्म सबै ८७ शवको पोस्टमार्टम सम्पन्न भइसकेको छ । लामो समयसम्म शवगृहमा राख्न कठिन भएपछि पहिचान हुन बाँकी शवको वैकल्पिक व्यवस्थापन गर्ने तयारी गरिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालका शवगृहमा ठाउँको अभाव हुन थालेपछि अन्तर्राष्ट्रिय मापदण्डअनुसार पहिचान हुन नसकेका शव व्यवस्थापन गर्न लागिएको कास्की प्रशासनले जनाएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार शव व्यवस्थापनका लागि स्थानसमेत यकिन भइसकेको छ । यस विषयमा सोमबार बिहान सर्वदलीय बैठक बसेर अन्तिम निर्णय गर्ने तयारी गरिएको छ ।

उहाँका अनुसार लामो समयसम्म शव राख्दा बिग्रिने भएकाले व्यवस्थापनमा समस्या देखिएको हो । पहिचान हुन नसकेका शवलाई बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७८ तथा अन्तर्राष्ट्रिय रेडक्रस (आइसिआरसी) को विपद्सम्बन्धी मार्गदर्शनलाई आधार बनाएर व्यवस्थापन गर्ने तयारी गरिएको छ ।

“लामो समय शव राख्दा बिग्रिने भएकाले व्यवस्थापनमा पनि अप्ठ्यारो भयो । पहिचान नभएकालाई बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८ र अन्तर्राष्ट्रिय रेडक्रसको विपद्सम्बन्धी मार्गदर्शनलाई ध्यानमा राखेर व्यवस्थापन गर्ने तयारीमा छौँ,” बरालले भन्नुभयो ।

प्रशासनका अनुसार शव व्यवस्थापन गरिए पनि भविष्यमा पहिचान गर्न सकिने गरी आवश्यक विवरण सुरक्षित राखिनेछ । त्यसका लागि सबै शवबाट डिएनए परीक्षणका नमुना लिइनेछ भने शवसँग सम्बन्धित विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिनेछ ।

गाडिने प्रत्येक शवमा छुट्टै ट्याग नम्बर राखिनेछ । यसबाट भविष्यमा आफन्तले दाबी गरेमा वैज्ञानिक विधिबाट पहिचान गर्न सहज हुने व्यवस्था मिलाइने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले सोमबार बिहानदेखि पहिचान हुन बाँकी शवको वैकल्पिक व्यवस्थापन सुरु गरिने जानकारी दिनुभयो ।

“शवको पोस्टमार्टम चलिरहन्छ,” उहाँले भन्नुभयो, “पोस्टमार्टम भएका तर पहिचान हुन बाँकी शवहरू सोमबार बिहानबाट वैकल्पिक व्यवस्थापन सुरु गर्छौँ ।”

जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा अस्पतालमै जाहेरी दर्तालगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरी पहिचान भएका शव आफन्तलाई हस्तान्तरण गर्ने क्रम जारी छ ।

प्रहरीले पहिचान प्रक्रियाका लागि सबै शवको फोटो तथा भिडियो अभिलेख तयार पारिरहेको छ । त्यस्तै, शवमा रहेका ट्याटु, चोटपटकका निशान, जन्मदाग वा अन्य पहिचान खुल्ने चिह्नसमेत रेकर्डमा राखिँदै आएको प्रहरीले जनाएको छ ।

यसरी वैज्ञानिक प्रमाण र अभिलेख सुरक्षित राखेर शवको वैकल्पिक व्यवस्थापन गर्न लागिएको हो, ताकि भविष्यमा आफन्तले खोजी गर्दा पहिचान गर्न सकियोस् ।

सम्बन्धित समाचार