रसुवामा राहतको नाममा कम उपयोगी सामग्री, सीडीओले मागे दीर्घकाल टिक्ने सामान

904 Shares

काठमाडौँ । भोटेकोसी–त्रिशूली बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवामा आवश्यकताअनुसार राहत सामग्री नपुगेको गुनासो आएको छ। प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्नेभन्दा कम उपयोगी सामग्री बढी पुग्न थालेपछि स्थानीय प्रशासनले राहत पठाउँदा समन्वय गर्न आग्रह गरेको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर मात्रै जिल्लामा राहत सामग्री पठाउन आग्रह गरेका छन्।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार प्रमुख जिल्ला अधिकारी परियारले तत्कालका लागि मात्र नभई लामो समयसम्म प्रयोग गर्न मिल्ने सामग्री आवश्यक रहेको बताएका छन्।

बाढी र पहिरोका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेपछि प्रभावित परिवारलाई खाद्यान्न, कपडा, आवास तथा अन्य अत्यावश्यक सामग्रीको आवश्यकता छ। तर राहत वितरणमा आवश्यकताभन्दा कम उपयोगी सामग्री पुग्दा त्यसको व्यवस्थापनसमेत चुनौती बन्न थालेको स्थानीय प्रशासनको भनाइ छ।

रसुवा सदरमुकाम धुन्चेका स्थानीय सुनील पौडेलले पनि प्रभावितका लागि आवश्यक सामग्री पर्याप्त रूपमा नआएको बताएका छन्। उनका अनुसार बाढीबाट प्रभावित जिल्लाका कतिपय नागरिक सुरक्षित स्थानको खोजीमा नुवाकोट र काठमाडौँ पुगेका छन्।

बाढीपछि विस्थापित परिवारको संख्या बढ्दै जाँदा राहत व्यवस्थापनलाई आवश्यकता केन्द्रित बनाउनुपर्नेमा स्थानीयले जोड दिएका छन्। विशेषगरी खाद्यान्न, खानेपानी, अस्थायी आवास, सरसफाइका सामग्री तथा लामो समय प्रयोग गर्न मिल्ने अत्यावश्यक सामग्रीको आवश्यकता रहेको बताइएको छ।

यसैबीच सरकारले प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र बनाएको छ। सडक तथा पुलमा पुगेको क्षतिका कारण कतिपय क्षेत्रमा राहत सामग्री पुर्‍याउन कठिनाइ भए पनि वैकल्पिक मार्ग मर्मत तथा सडक खुलाउने काम जारी छ।

प्रभावित क्षेत्रमा राहत पठाउने संघसंस्था तथा व्यक्तिहरूले स्थानीय प्रशासन र विपद् व्यवस्थापन निकायसँग आवश्यकताबारे समन्वय गरेर मात्रै सामग्री पठाएमा वास्तविक पीडितसम्म उपयोगी राहत पुर्‍याउन सहज हुने देखिन्छ।

रसुवामा बाढीपछि उत्पन्न मानवीय संकट लामो समयसम्म रहन सक्ने भएकाले तत्कालीन उद्धारसँगै प्रभावित परिवारको दीर्घकालीन आवश्यकता सम्बोधन गर्ने गरी राहत व्यवस्थापन गर्नुपर्ने चुनौती देखिएको छ।

सम्बन्धित समाचार