काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार अभियानलाई नेपाली सेनाले तीव्र बनाएको छ। बाढीमा बगेर तल्लो तटीय क्षेत्रमा पुगेका धेरै शव अहिले चितवन तथा नवलपरासीका नारायणी नदी क्षेत्रमा भेटिन थालेका छन्।
सरकारको पछिल्लो विवरणअनुसार हालसम्म बाढीमा परेका ९०३ जनाको शव फेला परेको छ। तीमध्ये चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा मात्रै ६३० शव भेटिएका छन्। चितवनमा २७२, नवलपरासी पूर्वमा २०७ र नवलपरासी पश्चिममा १५१ शव फेला परेको जनाइएको छ।
रसुवा र नुवाकोटमा उद्धार तथा खोजीको कामलाई प्राथमिकता दिइए पनि तल्लो तटीय क्षेत्रमा बाढीको बहाव कम हुँदै गएपछि नारायणी नदीमा शवहरू भेटिने क्रम बढेको हो। केही शव भारतसम्म पुगेकोसमेत जनाइएको छ।
बेपत्ताको खोजीका लागि नेपाली सेनाले चितवनस्थित नारायणी नदी र आसपासका क्षेत्रमा विशेष अभियान सञ्चालन गरिरहेको छ। मध्य पृतनाको नेतृत्वमा गठित टास्क फोर्सअन्तर्गत विभिन्न सैनिक युनिटलाई क्षेत्र विभाजन गरी खोजीमा परिचालन गरिएको छ।
नयाँ गोरख गण र नयाँ सबुज गणले संयुक्त रूपमा नारायणी नदी तथा आसपासका क्षेत्रमा खोजी तथा उद्धार गरिरहेका छन्। जोखिमपूर्ण तथा कठिन भूभागमा खोजी गर्न कमाण्डो तालिमप्राप्त टोलीसमेत परिचालन गरिएको सेनाले जनाएको छ।
सोमबार बिहान ५ बजेदेखि सञ्चालन गरिएको खोजी अभियानका क्रममा दिउँसो २ बजेसम्म मात्रै नगर वन टापु क्षेत्रमा १० वटा शव फेला परेका छन्। सोही क्षेत्रमा थप दुई शवका अवशेषसमेत भेटिएको सेनाले जनाएको छ।
बेपत्ताको खोजीका लागि चितवनमा ड्रोन र वाटर रबरबोटसहित ४३६ जनाको संयुक्त टोली परिचालन गरिएको छ।