बेत्रावतीको एउटै घरभित्र भेटिए २२ जनाको शव

1.1k Shares

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा बाढीले पुरिएको एउटा घरभित्रबाट २२ जनाको शव भेटिएको छ। सुरक्षाकर्मीको टोलीले सोमबार उक्त घरबाट ६ वटा शव निकालेको छ भने बाँकी १६ वटा शव मंगलबार निकालिने जनाइएको छ।

गत बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले बेत्रावती बजारमा ठूलो क्षति पुर्‍याएको थियो। बाढी आएको छैटौँ दिनमा खोजी तथा उद्धारका क्रममा लेदोले पुरिएको घरभित्र एकै ठाउँमा २२ वटा शव भेटिएका हुन्।

बाढीका बेला ती मानिसहरू उक्त घरमा भेला भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। भेटिएका शवहरू पहिचान गर्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक विपिन रेग्मीले बेत्रावतीमा पुरिएको घरभित्र ठूलो संख्यामा शव भेटिएको पुष्टि गरेका छन्। सोमबार केही शव निकालिएको र बाँकी शव संकलनको काम मंगलबार गरिने उनले बताएका छन्।

यसअघि बेत्रावतीका पत्रकार लक्ष्मण डंगोलले उक्त घरमा तत्काल खोजी गर्न माग गरेका थिए। उनले प्रमुख जिल्ला अधिकारीदेखि प्रधानमन्त्रीसम्मलाई उद्धारका लागि आग्रह गरे पनि सुनुवाइ नभएको बताएका छन्।

सम्बन्धित समाचार