काठमाडौं । अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीसँग करिब दुई दशक लामो यात्रा टुंग्याएका हुन्।
मेसीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। उनी अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन्।
उनको अन्तर्राष्ट्रिय करियर सुरुवाती वर्षमा भने निराशा र आलोचनाले भरिएको थियो। सन् २०१५ र २०१६ मा लगातार कोपा अमेरिका फाइनलमा चिलीसँग पराजित भएपछि २०१६ मा मेसीले भावुक हुँदै राष्ट्रिय टोलीबाट सन्यास घोषणा गरेका थिए। तर ४८ दिनपछि उनले आफ्नो निर्णय फिर्ता लिएर अर्जेन्टिनाको जर्सीमा पुनरागमन गरे।
पुनरागमनपछि मेसीको अन्तर्राष्ट्रिय करियरले नयाँ उचाइ हासिल गर्यो। सन् २०२१ मा अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि दिलाउँदै उनले पहिलो ठूलो सिनियर अन्तर्राष्ट्रिय उपाधि जिते। त्यसपछि २०२२ मा इटालीलाई हराउँदै फिनालिसिमा जिते भने कतारमा भएको विश्वकपमा अर्जेन्टिनालाई च्याम्पियन बनाए।
फ्रान्सविरुद्धको २०२२ विश्वकप फाइनलमा मेसीले दुई गोल गरेका थिए। खेल ३–३ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजयी भएको थियो। विश्वकप ट्रफी उचालेसँगै मेसीले आफ्नो करियरमा सबैभन्दा ठूलो अधुरो सपना पूरा गरेका थिए।
सन् २०२४ मा उनले अर्जेन्टिनालाई पुनः कोपा अमेरिका उपाधि जिताए। त्यसपछि २०२६ को विश्वकपमा समेत ३९ वर्षको उमेरमा टोलीको नेतृत्व गर्दै अर्जेन्टिनालाई फाइनलसम्म पुर्याए। तर फाइनलमा स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने सपना अधुरै रह्यो।
मेसीको अन्तर्राष्ट्रिय करियरमा विश्वकप, दुई कोपा अमेरिका र फिनालिसिमा लगायतका ठूला उपाधि छन्। उनले अर्जेन्टिनालाई लामो समयको उपाधिविहीन अवस्थाबाट निकाल्दै विश्व फुटबलको शीर्ष टोलीमध्ये एकका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेले।
२०१६ मा आँसुसँगै राष्ट्रिय टोली छाड्ने घोषणा गरेका मेसीले त्यसपछि फर्किएर अर्जेन्टिनालाई विश्वकप उपाधिसम्म पुर्याए। त्यसैले उनको अन्तर्राष्ट्रिय सन्यास केवल एउटा खेलाडीको करियरको अन्त्य नभई अर्जेन्टिनाको फुटबल इतिहासको एउटा स्वर्णिम अध्यायको अन्त्यका रूपमा हेरिएको छ।
आठ पटकका बालोन डी’ओर विजेता मेसी अब अर्जेन्टिनाको राष्ट्रिय टोलीमा देखिने छैनन्। उनी क्लब फुटबलमा भने इन्टर मियामीबाट खेलिरहेका छन्।