नुवाकोट । रसुवा बाढीबाट प्रभावित नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा तत्काल पठनपाठन सञ्चालन गर्न चौधरी फाउन्डेसनले सहयोग गर्ने भएको छ। बाढीका कारण विद्यालय भवनमा ठूलो क्षति पुगेपछि विद्यार्थीको पढाइ रोकिएको अवस्थामा फाउन्डेसनले वैकल्पिक व्यवस्था गरेर कक्षा सञ्चालनमा सहयोग गर्न लागेको हो।
बाढीबाट प्रभावित विद्यार्थीलाई विद्यालय फर्काउन, उनीहरूमा परेको मनोवैज्ञानिक असर कम गर्न तथा अध्ययनलाई निरन्तरता दिन फाउन्डेसनले आपत्कालीन सहयोग गर्न लागेको जनाएको छ।
फाउन्डेसनले विद्यालयमा डिजिटल कक्षाकोठाको अवधारणाअनुसार पठनपाठन सञ्चालन गर्न आवश्यक सामग्री उपलब्ध गराउने भएको छ। त्यसअन्तर्गत स्मार्ट बोर्ड, डेस्कटप, ल्यापटप, प्रोजेक्टर तथा इन्टरनेटको व्यवस्था गरिनेछ।
त्यस्तै, कक्षाकोठाका लागि आवश्यक फर्निचरसमेत काठमाडौंमा तयारी अवस्थामा रहेका सामग्रीबाट व्यवस्थापन गरी विद्यालयसम्म पुर्याइनेछ। विद्यार्थीलाई स्कुल ब्याग र स्टेसनरी सामग्रीसमेत उपलब्ध गराउने फाउन्डेसनले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार तत्काल पठनपाठन सञ्चालन गर्न वैकल्पिक भवनको व्यवस्था गर्ने प्रक्रिया अघि बढाइएको छ। भवनको व्यवस्था भएपछि फाउन्डेसनले आवश्यक भौतिक तथा शैक्षिक सामग्री उपलब्ध गराउनेछ।
त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा करिब १ हजार ६ सय विद्यार्थी अध्ययनरत थिए। भदौ १० गते आएको बाढीले विद्यालय भवनमा ठूलो क्षति पुर्याएको थियो।
चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले बाढी प्रभावित क्षेत्रका बालबालिकालाई मनोवैज्ञानिक असरबाट जोगाउँदै उनीहरूको पढाइलाई निरन्तरता दिन तत्काल विद्यालय सञ्चालन गर्न लागिएको बताउनुभयो।
विद्यालय सञ्चालनका विषयमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र प्रधानाध्यापक दवाडीबीच भदौ १५ गते छलफल भएको थियो। सोही छलफलका आधारमा फाउन्डेसनले विद्यालय सञ्चालनका लागि आवश्यक वातावरण तयार गरेको हो।
प्रधानाध्यापक दवाडीले फाउन्डेसनको सहयोगले बाढीबाट प्रभावित विद्यार्थीको पढाइ पुनः सुचारु गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो। वैकल्पिक भवनको व्यवस्थापन हुनासाथ पठनपाठन सञ्चालन गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो।