कृष्णभीरको अवरोध हटाउन नयाँ ट्र्याक खोल्ने सरकारको निर्णय
932
Shares
१६ भदौ, काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा तत्काल सडक सञ्चालनका लागि नयाँ ट्र्याक खोल्ने निर्णय गरेको छ।
पृथ्वी राजमार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानबारे मंगलबार बसेको बैठकले कृष्णभीरमा ग्याबियन ब्रेस्ट वालमाथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको काम तत्काल अघि बढाउने निर्णय गरेको हो।
विपद्बाट प्रभावित क्षेत्र तथा राजधानीसँगको आपूर्ति शृङ्खला पुनःस्थापित गर्न ट्र्याक खोल्ने कामलाई प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ। यस क्रममा सेक्रिफिसियल ग्याबियन बक्स निर्माण गर्नुका साथै बोल्डरलाई हिलसाइडबाट तल खसाल्ने काम पनि गरिने भएको छ।
त्यस्तै, कृष्णभीरको दीर्घकालीन समाधानका लागि टनेल, सोइल नेलिङ र सिट पाइल लगायतका विकल्पबारे सडक विभागले आवश्यक अध्ययन गर्ने निर्णय भएको छ।
कृष्णभीरको विकल्पमा टनेल वा बाइपास सडक निर्माण गर्न सकिने सम्भावनाबारे पनि तत्काल अध्ययन गरिने भएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने लक्ष्य मन्त्रालयले राखेको छ।
विकल्पहरूको अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने भएको छ। आवश्यकताअनुसार सडक विभाग र सोसाइटीबीच समझदारीपत्र (एमओयू) समेत गरिने मन्त्रालयले जनाएको छ।