बाढीपीडितलाई लोकदोहोरी व्यवसायी संघको राहत, सिरक–डसनादेखि चुलोसम्म सहयोग

1.2k Shares

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरीगीत व्यवसायी संघले भोटेकोसी बाढीबाट प्रभावित नुवाकोटका पीडितलाई राहत सामग्री वितरण गरेको छ। बाढीबाट घरबार तथा दैनिक जीवनमा असर परेका परिवारलाई लक्षित गर्दै संघले आवश्यकताअनुसार विभिन्न सामग्री उपलब्ध गराएको हो।

संघले बाढीपीडितलाई सिरक, डसना, चुलोलगायतका अत्यावश्यक सामग्री सहयोग गरेको जनाएको छ। विपद्का कारण समस्यामा परेका परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराएर राहतमा सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको संघले जनाएको छ।

बाढीपछि ठूलो संख्यामा परिवार विस्थापित तथा प्रभावित भएका कारण खाद्यान्नसँगै बसोबासका लागि आवश्यक सामग्रीको समेत अभाव देखिएको छ। यही अवस्थालाई ध्यानमा राखेर संघले पीडित परिवारसम्म राहत पुर्‍याएको हो।

संघले आगामी दिनमा पनि विपद्पीडितको सहयोगमा आवश्यक भूमिका निर्वाह गर्ने जनाएको छ। भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा विभिन्न संघसंस्था, व्यवसायी तथा व्यक्तिगत रूपमा राहत तथा सहयोग गर्ने क्रम जारी छ।

सम्बन्धित समाचार